संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ ।
सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ ।
तर, जिल्लाको साँगुरीगढी गाउँपालिकाको गोलखाडी र आस्कोटका स्थानीयले मौलिक हकमा उल्लेख गरे झैँ आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् ।
साँगुरीगढी गाउँपालिका– ७ को गोलखाडी, आस्कोटमा खानेपानीको अभाव लामो समयदेखि छ ।
गाउँमा रहेका मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । खानेपानीको जोहो गर्न दैनिक तीन घण्टासम्मको पैदल यात्रा गरी पानीको स्रोत सम्म पुग्नु परेको स्थानीयको गुनासो छ ।
गोलखाडी, आस्कोट गाउँवरीपरी प्रर्याप्त जमिन छ, उर्वरभूमि भएपनि पानी अभावले मरूभूमिमा परिणत हुन थालेको छ ।
साँगुरीगढी गाउँपालिका–७ आस्कोटकी ४६ वर्षीया अनिता राईले दैनिक बिहान ५ बजे उठेर खानेपानीको जोहो गर्न डेढ घण्टा टाढा रहेको कुवामा जाने वाध्यता रहेको बताउनु भयो । उहाँले खानेपानीकै लागि दैनिक तीन घण्टा समय निकाल्नुपर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
राईका अनुसार पानी अभाव कै कारण घर वरीपरीका करेसाबारी बाँझै रहेका छन्, तरकारी र खाद्यान्न किनेर खानुपर्ने बाध्यता छ ।
‘आफूले पानीको जोहो गर्न नभ्याउँदा छोराछोरीलाई पानी लिन पठाएकै कारण धेरै पटक छोराछोरीले विद्यालय छुटाउनु परेको राईको गुनासो छ ।
अनिता राईका अनुसार गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ, कि छैन ? भन्ने पिरलोले सताउने गरेको छ ।
आफूले थाहा पाएदेखि नै पानीको अभाव भोग्दै आएको ५९ वर्षीय सन्तमान राईले बताउनु भयो । उहाँले सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिबाट महिला तथा बालबालिकालाई सरसफाईमा ध्यान दिनुपर्ने सन्देश आएको तर, खानेपानी नआएको गुनासो गर्नुभयो ।
सङ्घीय खानेपानी आयोजनाले खानेपानी समाधान गर्न लगानी गरीरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्ररूम्दाली राईले बताउनु भयो ।
केही काम अधुरो रहेकाले केही बजेट फेरि सङ्घीय खानेपानी आयोजनाले छुट्याएकोले यो पटक पनि पुरा हुने अवस्था नरहेको वडाध्यक्ष रूम्दालीको भनाइ छ ।
लिफ्ट प्रणालीबाट खानेपानी आयोजना सञ्चालनको काम भइरहेको छ । सङ्घीय खानेपानी आयोजनाले धमाधम काम गर्न गरेको वेवास्ताको कारण आयोजना सम्पन्न हुन नसकेको र गाउँपालिकाले खानेपानीलगायतका काम गर्न बजेट नै नभएको अध्यक्ष राईको भनाइ छ ।
स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा साँगुरीगढी गाउँपालिका– ७ को गोलखाडी, आस्कोटका स्थानीय जनप्रतिनिधि, सरकारी कामप्रति सन्तुष्ट छैनन् ।
गाउँपालिकाको तथ्याङ्क अनुसार गोलखाडी र आस्कोटमा २ सय ५० घरधुरी रहेको छ ।



