INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लाको ‘रारा’ गाउँमा खानेपानीको अभाव

जुम्लाको तिला गाउँपालिका – १ रारागाउँ खानेपानीको अभाव भएको छ ।  ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । गाउँमा खानेपानीकै विषयमा युद्ध हुने गरेको छ ।

रारा गाउँको मुनि कर्णाली राजमार्गको जुम्ला सडक खण्ड छ । अनि सडक मुनि तिला नदी अनवरत बगिरहेको छ । तर नदीमा पिउन योग्य पानी बग्दैन । रारा गाउँवरिपरि पर्याप्त जमिन छ, उर्भर भुमी पानी अभावले मरुभूमि सहर छ ।

घर वरिपरिका करेसावारी बाँझौ छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । ‘उत्पादन हुने जमिन छ, तर सुख्खा छ, नदीको पानी खेर गइरहेको छ, सुख्खा जमिनमा उभिएर तल कलकल बगिरहेको तिला नदिलाई हेर्छाैं स्थानीय धनराज रावतले भन्नुभयो ।

‘कैयौं बालवालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन् । यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ, कि छैन ? भन्ने पिरलो हुन्छ ।’

प्रत्येक दिन २/३ जनाको झगडा भइरहन्छ । स्थानीय नन्द बहादुर बुढाले भन्नु भयो ।  तीन दशक सम्म खानेपानीको अभाव झेलेको रारागाउँमा सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधि, जनप्रतिनिधिबाट महिला तथा बालवालिकालाई सरसफाईमा ध्यान दिनुपर्ने संदेश पुग्यो तर खानेपानी पुगेन । सरसफाईका लागी सबै भन्दा बढी समस्या महिनावारी हुने महिला, जेष्ठनागरिक र बालवालिकालाई हुन्छ । अर्काे स्थानीय महिला दन्तकला बुढाले रारा गाउँ मरुभुमी सरह भएको बताउनु भयो ।

गाउँमा भएका चार धारा दिनमा २ घण्टा मात्रै पानी आउछन् ।  १० हजार लिटरको ट्यांकी छ । राष्ट्रिय जनगणना २०७८ अनुसार रारामा २ सय ६८ घरधुरी र एक हजार ६ सय २६ जनसँख्या छ । रारा क्षेत्रमा पानीको मुहान छैन । रारा एक गाउँ एक वडा भएको बस्ती हो ।

संघीय खानेपानी आयोजनाले चालु आर्थिक वर्षमै खानेपानी समाधान गरिदिने बाचा गरेको तिला गाउँपालिका – १ का वडाध्यक्ष जँगबहादुर बस्नेतले बताउनुभयो । रारा गाउँको इलाकामा बन जँगल नहुँदा पानीका मुहान छैनन् ।

छिमेकी वडाबाट पानी ल्याउनु बाहेक विकल्प नभएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो यो गाउँको लागि बृहत खानेपानी योजना निमार्णधिन अवस्थामा रहेको छ । संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गर्न भएकोले आयोजना सम्पन्न हुन सकेको छैन ।

यो योजनाका कारण गाउँपालिकाले रारागाउँमा खानेपानीको योजना बनाएको छैन । सङ्घीय खानेपानी आयोजनाले आयोजना निर्माण गर्न आश्वासन दिएको वडाध्यक्ष बस्नेतले बताउनु भयो । स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय सन्तुष्ट छैनन् ।

अन्य

भिडियो