INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोप लगाउनेविरुद्ध उजुरी

सिद्धलेक गाउँपालिका–२ तारनालाङ निवासी एकल महिला ५०  वर्षीया सुकमायाँ नेपालीले आफूलाई देउरानी ४०  वर्षीया जुठी नेपालीले ०७९ मङ्सिर ३ गते कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै  पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

ज्याला मजदुरी गरेर नातिनीसँग बस्दै आउनु भएकी पीडितले जुठी नेपालीले पटक पटक कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने गरेकोले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको बताउनु भयो  ।

पटक पटक बोक्सी आरोप लगाएपछि छिमेकीहरूको सहयोगमा सिद्धलेक प्रहरी चौकीमा छलफल समेत गराउने गरेको र मिलापत्र गरेर घर जाने गरेको भए पनि पुन  बोक्सीको आरोप लगाउन नछाडेकोले प्रहरीमा आरोपितमाथि कारबाही गर्न उजुरी दिएको पीडितको भनाइ छ ।

पीडितसँग उजुरी लेख्न समेत आर्थिक श्रोत नभएकोले जिल्ला कानुनी सहायता समितिको सहयोगमा उजुरी दर्ता गराउनु भएको थियो ।

आरोपितले यसअघि सिद्धलेक प्रहरी चौकीमा उजुरी दिने गरे पनि पटक पटक छलफल गरी प्रहरी चौकीमा मिलापत्र गरेर गाउँ फर्केको र घर पुगेपछि पुनः बोक्सी आरोप लगाई गाली गलौजमा उत्रने गरेको स्थानीय सामाजिक कार्यकर्ता सीता गिरीले बताउनु भयो।

उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले कानुन अनुसार प्रहरीले अनुसन्धान गर्ने र आरोपितलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिनु भयो ।

अन्य

भिडियो