INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते

चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् ।

जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने स्थानमा चार/पाँच जनाको समूहले रड प्रहार गरी पीडित बुढाथोकीको गोडा भाँचिदिएको प्रहरीले जनाएको छ ।

घाइते बुढाथोकीको प्राथमिक उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा गरेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

चुनावी सभा गरेर फर्कँदै गरेको अवस्थामा ‘काम छ’ भनेर स्थानीय होटेलमा बोलाएर पेस्तोल ताकेपछि भाग्नेक्रममा चार/पाँच जनाको समूहमा आएका नेविसङ्घका कार्यकर्ताले रड प्रहार गरेको पीडितले बताए ।

बुढाथोकीको दाहिने गोडाको घुँडादेखि माथि भाँचिएको छ । राति ९ः३० बजेको समयमा उक्त घटना भएकाले आक्रमण गर्नेहरूलाई चिन्न नसकिए पनि ‘काम छ’ भनेर बोलाउने नेविसङ्घ दाङका जिल्ला सदस्य मेखबहादुर चौधरी र स्थानीय कमल वली (टाइगर) रहेको पीडितले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घाइते भएका उम्मेदवार बुढाथोकीको उद्धार गरी अस्पताल पुर्‍याएको डिएसपी भुवनेश्वर तिवारीले बताए ।

आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेकपा एमाले दाङले विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । बुढाथोकी घोराही उपमहानगरपालिका-५ का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।

अन्य

भिडियो