मोरङमा निर्वाचन आचारसंहिताका तीनओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
२०७४ जेठ ११ गते पनि मोरङ बेलवारी नगरपालिकास्थित भगवती क्याम्पस अगाडि नेपाली काङ्ग्रेसको २५ मिटर लामो तुल राखेर आचारसंहिता उलङ्घन गरेको जनाउँदै उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए ।
उनले तुल हटाउनका लागि नेपाली काङ्ग्रेस मोरङका सभापतिलाई फोनमार्फत जानकारी गराइएको भन्दै तुल नहटाइए मुद्दा दर्ता गरिने र १ लाख रुपियाँसम्म जरिबाना हुन सक्ने बताए । सबैभन्दा पहिला सचेत हुन आग्रह गर्ने र नसुधारेको वा नटेरेको खण्डमा पछि मुद्दा दर्ता गरिने उनको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर गुद्री बजारमा पार्टीका अध्यक्ष कमल थापाको फोटो भएको होर्डिङ बोर्ड राखेको भनी उजुरी परेकोमा सो बोर्डसमेत हटाउनका लागि आयोगद्वारा राप्रपा मोरङलाई पत्राचार गरिएपश्चात बोर्ड हटाएको प्रमुख सञ्जेलले बताए ।
त्यस्तै पथरी शनिश्चरेको एक विद्यालयले इँटा भट्टालाई विद्यालयको सम्पति ठेक्कामा दिएकोमा सो को समेत जानकारी स्वरुप उजुरी परेको प्रमुख सञ्जेलले जानकारी दिएका छन् ।