INSEC Online

📅 २०८३ जेष्ठ २१

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफल कार्यक्रममा उनले भने-“कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छौँ ।”

उनले भने-“स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन ।”  सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने-“आयोगले ४ सय ६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।”

मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उनले ४ सय ६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताए ।

प्रमुख आयुक्त डा यादवले भने-“अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद् घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ ।”

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उनले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिए ।

पहिलो चरणको निर्वाचन अपेक्षा गरेकोभन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दाबी गर्दै उनले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसंशा गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो ।

अन्य

भिडियो