सशस्त्र द्वन्द्वका पीडित नौकुण्ड गाउँपालिका–१ का ६४ वर्षीय शुकुबहादुर तामाङले पनि अहिलेसम्म रहात नपाएको गुनासो गर्नु भएको छ ।
तत्कालीन राज्य तथा बिद्रोही नेकपा माओवादीले पनि आफूलाई बेवास्ता गरेको उहाँको गुनासो छ ।
२०६२ सालमा राज्यका तर्फबाट माओवादी आतङ्ककारी गतिविधि गरेको भन्दै गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिएको तामाङले बताउनुभयो ।
धेरैले सरकारबाट राहत पाए पनि आफूले केही नपाएको उहाँले भन्नुभयो ।
द्वन्द्वकै कारण अपाङ्गता भएका उहाँले २०६७ सालमा अपाङ्ग परिचय भने पाउनुभयो । ‘राज्यले मात्र होइन आफ्नै पार्टी नेकपा माओवादीले पनि वास्ता गरेन’ उहाँले दुःखेसो गर्नुभयो ।
उहाँलाई प्रहरी तथा नेपाली सेनाले पटक पटक गिरफ्तार गरी यातना दिएका थिए । तामाङलाई ०६२ साल फागुन १५ गते गिरफ्तार गरी पाँच महिनासम्म रसुवा जिल्ला कारागारमा राखिएको थियो ।
जन आन्दोलन ०६२/६३ को सफलतापछि इन्सेक प्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा तामाङ रिहाइ हुनुभएको थियो ।
उहाँले मस्तिष्क र हड्डीको समस्या देखिएपछि आफ्नो सबै जग्गा बेचेर लामो समय उपचार गरेको बताउनुभयो । इन्सेकको रसुवा जिल्ला प्रतिनिधिसँगको भेटमा उहाँले आफ्नो समस्या उठान गरिदिन अनुरोध गर्नुभयो ।
पूर्व नेकपा माओवादी केन्द्रका कार्यकर्ता तामाङलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्र र राज्य पक्षले उपेक्षा गरेको गुनासो गर्नुभयो ।
त्यसै गरी १० वर्षे सशस्त्र द्वन्द्वका अन्य पीडितहरूले राज्यबाट उपलब्ध गराईएको राहत नपाएपछि गुनासो गरेका छन् ।
स्थानीय सरकारले पनि केहीलाई मात्र राहत दिएको उत्तरगया गाउँपालिका-५ का सूर्यनाल डङ्गोलले बताउनुभयो ।
उहाँले इन्सेका प्रतिनिधिसँग गुनासो गर्नुभयो “द्वन्द्व पीडितका लागि स्थानीय सरकारले कुनै पनि राहत तथा जीविकोपार्जन कार्यक्रम पनि गर्न सकेन” उहाँले भन्नुभयो ।
द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन उहाँको अनुरोध थियो । तत्कालिन नेकपा माओवादीलाई सघाएको आरोपमा प्रहरीले ०५८ भदौ ९ गते गिरफ्तार गरी एक महिनासम्म प्रहरी हिरासतमा राखेर यातना दिएको डङ्गोलले बताउनुभयो ।