नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते राती ज्वालामुखी गाउँपालिका-३ कोलेमा झडप हुँदा दुबैपक्षका गरी पाँच जना घाइते भएका छन् ।

झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र भट्ट, नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा गाउँपालिकाका निर्वाचित अध्यक्ष ३८ वर्षीय बिनोद तिमल्सिना, नेपाली काङ्ग्रेस कार्यकर्ता २७ वर्षीय दामोदर भट्ट घाइते भएका छन् ।
घाइते उनीहरूमध्ये नरेन्द्र र दामोदरको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भयो । उनीहरूलाई डिस्चार्ज गरिएपछि पुनः ग्रीनसीटी अस्पतालतर्फ लगिएको नेपाली काङ्ग्रेसले जनाएको छ ।

झडपको क्रममा ज्वालामुखी गाउँपालिका-३ निवासी नेकपा एमालेका १४ वर्षीय अमृत आले, ३३ वर्षीय राउत भनिने अमृत पुरी घाइते भएका छन् ।
नेकपा एमालेले आक्रमण गरेको भन्दै नेपाली काङ्ग्रेसले जेठ ७ गते धादिङ बन्दको आहृवान गरेको छ । नेपाली काङ्ग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबेसी बजार बन्द गराइएको थियो ।

बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर्ण रुपमा बन्द गरिएको छ । जेठ ७ गते बिहान नीलकण्ठ क्याम्पस बन्द गरिएको थियो । आइतबार दिउँसो सदरमुकामका सरकारी तथा नीजि विद्यालयहरू बन्द गरिएको छ ।
बजारबन्द गराएपछि काङ्ग्रेस कार्यकर्ताहरू चोक चोकमा आक्रमणमा संलग्नलाई कारबाहीको माग गदै बसेका छन् ।

सो गाउँपालिकामा काङ्ग्रेसले अध्यक्ष सहित बिजय हासिल गरेको थियो भने एमालेले उपाध्यक्षसहित बहुमत वडा जितेपछि जेठ ६ गते छुट्टाछुट्टै बिजय सभा गरेका थिए । विजय सभाबाट घर फर्कदै गरेका एमाले कार्यकर्ता चढेको तीन ओटा गाडीमा बियरको बोतल र ढुङ्गा हानिएको र त्यसपछि झडप भएको नेकपा एमालेले जनाएको छ ।
काङ्ग्रेसले भने आफूहरूमाथि आक्रमण गरेको जनाएको छ । झडपमा घाइते हुनेको सङ्ख्या आफू आफूले दावी गरेपनि प्रहरीले भने एमालेको दुई जना र काङ्ग्रेसको तीन जना घाइते भएको बताएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको छ । जिल्लाको सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।