निषेधाज्ञा उल्लङ्घन गरी आन्दोलनमा उत्रिएको आरोपमा १४ जना विद्यार्थी सहित १८ जनालाई प्रहरीले मङ्सिर १६ गते डिभोटी हाटेल मार्गबाट गिरफ्तार गरेको छ ।
धनगढी उपमहानगरपालिका–५ पञ्चोदय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको मङ्सिर १५ गते कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले किचेर हत्या गरेको विरोधमा अभिभावक र विद्यार्थीहरुले बाटो अवरुद्ध गर्दै टायर बालेर आन्दोलनमा उत्रिएका छन् ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञा उल्लङ्घन गरी अराजक र उछ्रिङ्गल गतिविधिमा संलग्न तीन जना विद्यार्थीहरुलाई मङ्सिर १५ गते तीन जना विद्यार्थी र ङ्सिर १६ गते विहाना १५ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।
गिरफ्तार हुनेमा १९ वर्षीय इश्वर रोकाया, १७ वर्षीय याेगेश कुँवर,२१ वर्षीय तेजबहादुर विष्ट, ३६ वर्षीय राज काफ्ले लगायत १८ जना रहेकाे र गिरफ्तार गरिएका सबै जनालाई सम्झाइ बुझाई गरी अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको, ग्रेडरका चालक २७ वर्षीय विमल कुमाललाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र पीडित परिवारले उजुरी दिर्ता गर्ने तयारी गरिरहको अवस्थामा पनि विद्यार्थीहरुले हिंसात्मक अन्दोलन गर्दै आएको डिएसपी जोशीले बताउनु भयो ।
आन्दोलनका नाममा शान्ति सुरक्षालाई खलल पार्ने गरी अराजक गतिविधि बढ्दै गएपछि शान्ति सुरक्षा कायम गर्नका लागि जिल्लास्तरीय सुरक्षा समितिले मङ्सिर १५ गते साँझ ७ बजेदेखि मङसिर १६ गते साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
गे्रडर चालकले जानीबुझेर आफ्नो सहपाठीकोे हत्या गरेको भन्दै आक्रोसित विद्यार्थीहरुले निषेधाज्ञा जारी गरेको समयमा मङ्सिर १६ गते विहानैदेखि धनगढी बजारमा आन्दोलन गर्दै आएका छन् ।
निषेधाज्ञा उल्लङ्घन गरेर आन्दोलित विद्यार्थीहरुले सुरुक्षाकर्मीमाथि नै ढुङ्गामुडा प्रहार गर्न थालेपछि प्रहरीले ३७ राउण्ड अश्रुग्यास प्रहरा गरी स्थिति नियन्त्रणमा लिएको समेत जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताउनु भयो ।
धनगढी उपमहानगरपालिका—१ को पुरानो फुलवारी बसपार्क (पुष्पलाल) चोकदेखि पश्चिम धनगढी उपमहानगरपालिका–४ रातोपुलसम्म र उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रदेखि दक्षिण धनगढी उपमहानगरपालिका वडा नम्बर १ र २ स्थित हुलाकी राजमार्ग क्षेत्र भित्र मङ्सिर १६ गते साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मङ्सिर १५ गते सूचना जारी गरी निषेधाज्ञा गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी भेला, जमघट र नाराजुलुस गर्न नपाउने उल्लेख गरेको छ ।