INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

बलात्कार गरेर महिलाको हत्या गरेको आरोपमा दुई जना युवालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

भरतपुर महानगरपालिका–२ मा पर्ने दुर्गा मन्दिर चोकमा रहेको पतिक्षालय पछाडि खाली चौरमा अन्दाजी ५५ वर्षीया महिला मृत अवस्थामा भेटिएपछि उक्त घटनामा संलग्न भएको आरोपमा गोरखा, सिरान्चोक गाउँपालिका वडा नं २ घर भई हाल भरतपुर–२, तीनखोलेमा स्थायी बसोवास गर्दै आएका २३ वर्षीय सन्दीप गुरूङ र सोही स्थानमा बस्ने २२ वर्षीय विजय परियारलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले बताउनुभयो ।

डिएसपी पण्डितका अनुसार आरोपित दुवै जनाले ती महिलामाथि बलात्कार गरी ढुङ्गाले टाउकोमा हिर्काएर हत्या गरेपछि ठूलो गुम्बाको कम्पाउन्डभित्रको झाडीमा लगेर फालेका अनुसन्धानको क्रममा खुलेको थियो । मृतक महिलाको पहिचान खुलिसकेको छैन ।

घटनास्थल क्षेत्रका स्थानीय र त्यस स्थानवरपर जडान गरिएका सिसी टिभीको भिडियोका आधारमा खोजतलास र अनुसन्धान गर्ने क्रममा गुरूङ र परियारलाई गिरफ्तार गरिएको डिएसपी पण्डितले बताउनु भयो ।

शवको मङ्सिर ६ गते भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

अन्य

भिडियो