सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ ०७९ मङ्सिर ९ गतेबाटबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
मन्थलीमा मङ्सिर ९ गते बिहान र्याली तथा कोण सभा गरी अभियानको शुभारम्भ गरिएको हो । मन्थली नगरपालिकाको मूल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास समाज र रेष्टको सहकार्यमा अभियानको उद्घाटन र्याली तथा कोण सभाबाट भएको हो ।

मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको र्याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । हिंसा विरुद्धका विभिन्न प्लेकार्ड बोकेको र्यालीमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवा, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कोण सभामा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले १६ दिन भरी मन्थली नगरपालिकाका सबै वडामा पुगी टोल सुधार समितिलाई लैङ्गिक हिंसा विरुद्धको प्रशिक्षण दिनुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक, अपाङ्ग, स्वयम्सेवीका, मानव अधिकार लगायतका दिवस मनाइने जानकारी दिनुभयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने सो अभियान अन्तर्गत विश्वभरि नै लैङ्गिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम हुने गर्दछन् ।
