स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएपछि सोही दिन स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले संक्षिप्त प्रतिवेदन आयोगमा बुझाएको छ ।
सो अभियान अन्तर्गत करिब १ हजार २ सय जना निर्वाचन पर्यवेक्षकले ३४ जिल्लाका करिब २ हजार मतदान केन्द्र तथा मतदानस्थलको पर्यवेक्षण गरेको प्रतिवेदनमा जनजाइएको छ ।
‘यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदाता मतदानमा सहभागी रहेको प्रारम्भिक सूचना छ । २० वर्षपछि स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाएका मतदाताहरू उत्साहका साथ निर्वाचनमा सहभागी भए । यस निर्वाचनमा महिलाहरूको सहभागिता उल्लेखनीय पाइयो ।’-प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझाउँदै नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले भने-‘यो निर्वाचनमा देखिएको जनताको उत्साह, दलहरू, युवा पुस्ता, महिला र दलित समुदायकोसमेत सहभागिताले शासन व्यवस्थामा जनताको स्वामित्व अभिबृद्धि हुने देखिन्छ ।’
प्रतिवेदन बुझदै निर्वाचन आयोगका कानुन सचिव सुशील कोइरालाले समयमा नै संक्षिप्त प्रतिवेदन बुझाएकोमा अभियानको कामप्रति आभार व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसमक्ष पेश गर्ने बताए ।















