INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)

स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको छ ।

तनहुँ जिल्लाको रिसिङ गाउँपालिका-४ स्थित बालविकास माविमा रहेको मतदान केन्द्रमा विवाद हुँदा १२ः२० बजेपछि मात्रै मतदान प्रक्रिया सुरू भएको छ । नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार भोजराज रानाभाटले बसमा उम्मेदवार ल्याएको भन्दै सोको विरोधमा अन्य उम्मेदवारहरूले रानाभाटको उम्मेदवारी खारेजीको माग गर्दै वैशाख ३१ गते मतदान अधिकृत कहाँ उजुरी दिएका छन् । मतदान अधिकृत अञ्जीर भट्टराईले अन्य उम्मेदवारको विरोधका कारण मतदान प्रक्रिया ढिलो सुरू भएको जानकारी दिए ।

गोरखा जिल्लामा बिहान ७ बजे सुरू भएको जिल्लाको मतदान १२ः३० बजेसम्म २० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । चुमनुब्री गाउँपालिका-१मा रहेको साम्दु मतदान केन्द्रमा ७१ मतदाता रहेकोमा ६९ ओटा मत खसेको छ । ७१ जनामध्ये एकजना मतदाता नेपाली सेनामा रहेको र एकजनाको निधन भइसकेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

पर्वतको कुश्मा नपा-१० मा रहेको पुलेश्वर मावी मतदान केन्द्रमा वारेसी मत हाल्ने बारेमा विवाद हुँदा साढे ११ बजेबाट करिब एक घण्टाका लागि मतदान प्रक्रिया स्थगित भएको छ ।

कास्कीको नदीपुर-६ मा रहेको कन्या मावि मतदान केन्द्रमा अघिल्लो दिन मतदाता परिचय पत्र लिन बाँकी रहेका मतदाताले बिहान मतदाता परिचय पत्र नपाउँदा मतदान प्रक्रियाबाट वञ्चित रहेका थिए । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोलीले सो बारे क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएपछि सो स्थानमा रहेका मतदाताले परिचयपत्र लिएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।

मनाङ जिल्लामा अहिलेसम्म ८० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यलय मनाङले जनाएको छ । जिल्ला सदरमुकाम चामे गाउँपालिका-५ मा २ सय ९३ मतदाता रहेकोमा १२ मतमात्रै खस्न बाँकी रहेको बताइएको छ ।

यसैगरी नवलपरासी, बाग्लुङ, लमजुङ, स्याङ्जा, मुस्ताङ र म्याग्दी जिल्लामा शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको छ ।

लमजुङको बेसी शहर नपा-११ स्थित रामचोक मतदान केन्द्रमा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ ।

 

१२ः५० बजे भएको झडप मतदान केन्द्र बाहिर भएका कारण मतदातालाई असर भने नपारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले हाल अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

 

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-८ मा रहेको रामेश्वरी मतदान केन्द्रमा नयाँ शक्ति पार्टी र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच वारेसी मतका बारेमा विवाद भएपछि झडप हुँदा केहीबेर मतदान स्थगित भएको छ । १ः१० देखि १ः२५ सम्म मतदान प्रक्रिया स्थगित भएको थियो । हाल मतदान प्रक्रिया पुनः सुरू भएको छ ।

अन्य

भिडियो