स्थानीय तहको मतदान सुरु हुनु भन्दा ४८ घण्टा पहिलेदेखि सुरु भएको मौन समयमा पनि निर्वाचनको प्रचार प्रसार गरेको आरोपमा वाणिज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानीयले नियन्त्रणमा लिएको बताईएको छ ।
स्थानीय तहको निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा वाणिज्य मन्त्री सहितको टोलीलाई वैशाख २९ गते राती १२ बजे स्थानीयले नियन्त्रणमा लिएका थिए । छुसाङबाट मन्त्री सहित बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदका उम्मेदवार नामग्याल गुरुङ, सदस्य प्रेम गुरुङ, सरिला परियार र शान्ती गुरुङलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकाम जोमसोम ल्याईएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए ।
वाणिज्य मन्त्री गौचन सहितको टोलीले निर्वाचनको आचारसंहिता विपरित गतिविधि बढाएको जनगुनासो बढेपछि निगरानी बढाईएको र अन्तमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रलेले बताए । मन्त्री गौचनले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै विपक्षी दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाका साथै स्वतन्त्र उम्मेदवार र स्थानीयहरूले वैशाख ३० गते जिल्ला प्रशासन कार्यलय मुस्ताङमा ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा आचारसंहिता उल्लङ्घन गर्ने मन्त्री र गाउँपालिकाका उम्मेदवारहरूलाई कारवाही गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको उल्लेख छ ।
वाणिज्य मन्त्री गौचनले भने आफू मन्त्रालयको कामले कोरला नाकासम्म जान मुस्ताङ पुगेको भन्दै आफूमाथी लागेको आरोप निराधार रहेको बताएको मुस्ताङका पत्रकार केशव विकले जानकारी दिए ।