राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ ।
आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनालको नेतृत्वमा रहेको टोलीले सुरक्षाको आधारमा सम्वेदनशील मानिएका सानोभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका पाँच ओटा मतदान स्थलको अनुगमन गरेको हो ।
निर्वाचन आचारसंहिता अन्तरगत मौन अवधिको अवस्था, मतदान स्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अशक्तहरूका लागि गरिएको व्यवस्था तथा समग्र शान्ति सुरक्षाको समेत अनुगमन गरिएको आयोगका शाखा अधिकृत खनालले बताए ।
शान्ति सुरक्षाको हिसावले जिल्लाको सानोभेरी गाउँपालिका सम्वेदनशील क्षेत्र रहेको सुरक्षा अधिकारीहरूले बताउने गरेका छन् ।
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच वैशाख २६ गते उक्त गाउँपालिकामा झडप हुँदा प्रहरीले हवाइफायरसमेत गरेको थियो । सोही विषयलाई लिएर पटकपटक झडपको सम्भावना रहेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूसमेत परिचालन गरिएको छ । अनुगमनमा इन्सेक रुकुमका प्रतिनिधि आदर्श केसीको समेत सहभागिता रहेको थियो ।