छायाँनाथ रारा नपा-१२ स्थित शोभागाउँको मतदान केन्द्रका सम्पूर्ण मतदान सामग्री नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ३० गते कब्जा गरेको स्थानीयले आरोप लगाएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेता सुरजीत साउदको नेतृत्वमा करिब १ सय जनाको समूहमा गएका कार्यकर्ताले बिहान १० बजे उक्त सामग्री कब्जा गरेको स्थानीयबासीले जनाएका छन् ।
सो पार्टीका कार्यकर्ताले मतपत्र, स्वस्तिक छाप, मतदान बाकसलगायतका सामग्री कब्जा गरेका थिए । नेपाली सेनासहितका अन्य सुरक्षाकर्मी घटनास्थलतर्फपठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार उक्त मतदान केन्द्रमा वैशाख ३१ गते निर्वाचन हुने बताए । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जा गरेका सबै सामान रद्द गरिएको मुख्य निर्वाचन अधिकृत पुण्डेश्वर उपाध्यायले बताए ।