स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन वैशाख २८ गते राति भिमाद नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको छ ।
राति करिब ११ बजेको समयमा भिमाद नपा-६ बाग्टारमा दुई पार्टीका कार्यकर्ताहरूबिच भएको झडपमा दुवै पार्टीका एक/एक जना कार्यकर्ता घाइते भएका छन् । दुवै पार्टीले झडपको दोष एक अर्को पक्षलाई लगाएका छन् ।
झडपमा परी नेपाली काङ्ग्रेसका कार्यकर्ता विमल थापा र नेकपा एमालेका कार्यकर्ता मनोज थापा घाइते भएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका विमलको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा र मनोजको उपचार जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र खैरेनीटारमा भइरहेको छ ।
भिमाद नपाका नेपाली काङ्ग्रेसका मेयर उम्मेदवार पुष्प पराजुलीले आफूहरू भिमादको राङरुङमा घरदैलो सकेर फर्कने क्रममा एमालेका कार्यकर्ताहरूले एमालेको वडा कार्यालयको छतबाट आफूहरूलाई एक्कासी ढुङ्गा, इँटा र बोतलले आक्रमण गरेको आरोप लगाए । त्यस्तै एमाले कायर्कर्ता निरोज खनालले भने पहिला काङ्ग्रेस कार्यकर्ताहरूले एमालेको वडा कार्यालय अगाडि बसिरहेका एमाले कार्यकर्ता मनोज थापालाई आक्रमण गरेपछि एमाले कार्यकर्ताहरूले प्रतिकार गरेको दावी गरे ।
सो घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेले फागुन २९ गते बिहान इलाका प्रहरी कार्यालय भिमादमा छुट्टाछुट्टै मौखिक उजुरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय भिमादका इञ्चार्ज डिएसपी सुरेन्द्र सुरुङले रातिको घटना भएको कारण कुन पक्षबाट पहिला आक्रमण भयो भन्ने बारेमा हाल आफूलाई केही जानकारी नभएको र घटनाको अनुसन्धान गरिरहेको बताए ।
डिएसपी गुरुङले २८ गते राति नै दुवै पार्टीका तर्फाट मेयर पदका उम्मेदवारहरूलाई फोन गरी आक्रमणको घटना तत्काल रोक्न आग्रह गरेको बताए ।