INSEC Online

📅 २०८३ जेष्ठ २१

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका १ सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको राससले जनाएको छ ।

यही वैशाख १५ गतेदेखि २८ गतेसम्मको अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित/प्रसारित २५ सामग्री, पाँच/पाँच टेलिभिजन र रेडियोतर्फका १२/१२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने तीन छापा तथा पाँच/पाँच रेडियो र टेलिभिजनलाई तुरुन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिए ।

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्षता नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमाअनुरुप विज्ञापन प्रकाशन/प्रसारण नभएको तथा निर्वाचनसम्बन्धी सभासम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको छ ।

नवलपरासीका तिलोत्तम पौडेलले वैशाख २८ गते चितवनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रद्वारा संयुक्त रूपमा आयोजित सभाको गैँडाकोटस्थित विजय एफएमले प्रत्यक्ष प्रशारण गरेको स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालयमा जानकारी दिएका थिए ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको काउन्सिलले गुणात्मक अनुगमन प्रणालीको दैनिक रूपमा र सङ्ख्यात्मक अनुगमनको साप्ताहिक रूपमा निर्वाचन आयोगलाई प्रतिवेदन दिँदै आएको छ ।

अन्य

भिडियो