मटिहानी नगरपालिका–१ धीरापुर बस्ने ४० वर्षीया आमना खातुनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय मोजाहिर अन्सारीलाई असोज ९ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार खातुनलाई अन्सारीले असोज ७ गते घाँस काट्न गएको बेला चौरमा बलात्कार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
आरोपित अन्सारीलाई असोज ९ गते मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले गिरफ्तार गरेको महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनु भयो ।
आरोपित अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरेको आरोप छ ।
महिलाको शव बाँसघारीमा असोज ७ गते राती १० बजे फेला पारेको एसपी पङ्गेनीले जानकारी दिनु भयो ।
एसपी पङ्गेनीको अनुसार खातुन असोज ७ गते बिहान ११ बजेको समयमा घाँस काट्न भनि घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई गएकोमा साँझसम्म पनि घर फर्की नआएपछि घर छिमेकी तथा आफन्त समेतले खोजतलास गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले खबर पाएपछि खोजतलास गर्ने क्रममा राती १० बजे धिरापुर गाउँदेखि १.५ किमी पूर्व पर्ने बिगही खोलाको किनारमा पर्ने झिँझा बगैँचाको बाँसघारीमा मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोरी चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपितको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो ।
आरोपितले १ सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएर राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ । प्रहरीले घटना भएको ३६ घण्टापछि आरोपितलाई गिरफ्तार गरेको थियो ।
आरोपितमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको र घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी पङ्गेनीले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल जलेश्वरमा असोज ८ गते गरिएको छ ।