स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा विभिन्न जिल्लामा आचारसंहिता विपरीतका गतिविधि भएका इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार चुनावी प्रचारको लागि वैशाख २८ गते नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरीत विद्यालयको गाडी प्रयोग गरेको छ ।
माओवादी केन्द्रले बेनिघाट रोराङ गाउँपालिका-७ चरौँदीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कूलका तीन ओटा विद्यालय बस चुनावी र्यालीका लागि प्रयोग गरेको हो ।
स्थानीय तह निर्वाचनका लागि प्रचार गर्ने अन्तिम दिन २८ गते जोगिमारादेखि मलेखुसम्मको क्षेत्रमा माओवादी केन्द्रले विद्यालयको बस प्रयोग गरेको बेनिघाट रोराङ निवासी फणिन्द्र सिलवालले बताए ।
विद्यालयको सवारी साधन राजनीतिक दलको र्यालीमा प्रयोग गर्न नपाइने स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख भएपनि माओवादी केन्द्रले विद्यालयको गाडी प्रयोग गरेको हो ।
यसैबीच, चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवनमा वैशाख २८ गते नेपाली काङ्ग्रेस तथा माओावदी केन्द्रको संयुक्त आमसभा र नेकपा एमालेको आमसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् ।
इन्सेकका काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार धुलिखेल नपा-१२ का वडा सदस्यका उम्मेदवार ५७ वर्षीय सुकुलाल तामाङको वैशाख २८ गते बिहान घरमै मृत्यु भएको छ । उनको मृत्यु अत्यधिक मदिरा सेवनका कारणले भएको जिल्ला प्रहरी कार्यालयले जनायो । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडाले घटनाबारेमा निर्वाचनमा आयोगमा जानकारी गराइएको बताए ।
दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार चुनाव प्रचार प्रसारका क्रममा गौरिशङ्कर गाउँपालिकामा एमालेका कार्यकर्ताको हत्या भएको घटनाको अनुगमनका लागि स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको एक टोलील आजै घटनास्थलको अवलोकन तथा अनुगमन गरको छ । इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका संयोजक कृष्ण गौतमको नेतृत्वमा आएको टोलीले घटनाको अध्ययन गरेको हो ।
रसुवाबाट इन्सेक प्रतिनिधि हेमनाथ खतिवडा, सिन्धुलीबाट विमला पाण्डे, रामेछापबाट नवराज पथिक, नुवाकोटबाट नवदीप श्रेष्ठ र सिन्धुपाल्चोकबाट नातिबाबु धितालका अनुसार जिल्ला निर्वाचन कार्यालयले आजदेखि फोटो सहितको मतदाता परिचय वितरण सुरु गरेको छ । आज रातिबाट मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलले आफ्नो चुनावी प्रचार प्रसारको काम सकेका छन् । सिन्धुलीमा नेपाली काङ्ग्रेसले सदरमुकाममा आयोजना गरेको चुनावि र्याली तथा आमसभामा निर्वाचन आचार संहिता विपरीत बालबालिकालाई पार्टीको चिन्ह अङ्कित टोपी तथा टिसर्टसहित प्रयोग गरेको इन्सेक प्रतिनिधि पाण्डेले जानकारी दिइन् ।