कर्णाली प्रदेशका शारीरिक अपाङ्गता भएका बालबालिका पुर्नस्थापनाको पर्खाइमा रहेका छन ।
विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, सुर्खेतका अनुसार कर्णाली प्रदेशमा शारीरिक अपाङ्गता भएका ७ हजार ८ सय ४२ जना बालबालिका पुर्नस्थापनाको पर्खाइमा रहेका हुन ।
राष्ट्रिय जनगणना २०६८ र नेशनल लिभिङ्ग स्ट्याण्डर्ड सन् २०११ को आधारमा कर्णालीमा शारीरिक अपाङ्गता भएका बालबालिकाको सङ्ख्या ८ हजार ३ सय ७ जना रहेको छ । कर्णालीको अनुमानित बालबालिकाको जनसङ्ख्या ७ लाख ९० हजार २ सय ४९ जना रहेको छ । राष्ट्रिय व्यापकताको ३ दशमलव ६ प्रतिशतका आधारमा कर्णालीमा ८ हजार बढी बालबालिकामा शारीरिक अपाङ्गताको समस्या छ । जसमध्ये २ हजार ३ सय ४२ जना बालबालिका उपचारको पहुँचमा पुगेका छन् । यो समग्रमा २८ प्रतिशत हो । अहिलेको समयमा १ हजार ८ सय ७७ जना शारीरिक अपाङ्गता भएका बालबालिका उपचाररत छन् । विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका अनुसार कर्णालीका ४ सय ६५ जना बालबालिकाले शारीरिक अपाङ्गताको उपचार पूरा गरेका छन् ।
कर्णालीको यो अवस्थालाई मध्यनजर गरी वीरेन्द्रनगरमा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र स्थापनाको तयारी थालिएको छ । काभ्रेपलाञ्चोकस्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले सेवालाई प्रदेशगत रुपमा पु¥याउने उद्देश्यले कर्णालीका लागि वीरेन्द्रनगर नगरपालिका–१ मार्फत आफ्नो सेवा प्रारम्भ गर्ने भएको हो ।
अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्रका सीबीआर संयोजक नेत्रबहादुर देउजाले भन्नु भयो, ‘कर्णालीमा शारीरिक अपाङ्गता भएका बालबालिकाको सङ्ख्या धेरै छ । उनीहरूलाई पुर्नस्थापनाको आवश्यकता छ । आर्थिक अभाव तथा विभिन्न पहुँचमा अभावका कारण उनीहरूको पुर्नस्थापना हुन सकिरहेको छैन । त्यसैले कर्णालीको राजधानीमार्फत सेवा प्रवाह गर्न सकिए धेरै बालबालिकाको पहुँच पुग्नेथियो ।’
अघिल्लो आर्थिक वर्षमा संस्थाले यसअघि सल्यान, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, र मुगुमा आयोजना गरेको स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविरमार्फत शारीरिक अपाङ्गता भएका ८ सय ५ जना बालबालिकाको पहिचान गरेको थियो । जसमध्ये १ सय ३७ जना बालबालिकाको अपाङ्ग बाल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भईसकेको छ । उनीहरूको जटिल प्रकृतिको शल्यक्रिया गरिएको शिविर संयोजक देउजाले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त शल्यक्रियामा सुर्खेतका २९ जना, सल्यानका २४, दैलेखका १९, जुम्लाका १२, मुगुका ११, जाजरकोटका ६, डोल्पाका चार जना, रुकुम पश्चिम र हुम्लाका क्रमश दुई–दुई जना रहेका छन् ।
सुर्खेत, दैलेख र सल्यानमा धेरै
कर्णालीका पुर्नस्थापना सेवा आवश्यक रहेका बालबालिकाको सङ्ख्या सुर्खेतमा धेरै छ । सुर्खेतमा १ हजार ६ सय ५२ जना शारीरिक अपाङ्गता समस्या रहेका बालबालिकालाई पुर्नस्थापनाको आवश्यकता छ । यसैगरी दैलेखमा १ हजार ३ सय ३४ जना, कालिकोटमा ७ सय १० जना, जुम्लामा ५ सय ५ जना बालबालिकालाई पुर्नस्थापनाको आवश्यकता छ । मुगुमा २ सय ८० जना, रुकुम पश्चिममा ७ सय ९८ जना, जाजरकोटमा ८ सय ८८ जना, डोल्पामा १ सय ९२ जना, हुम्लामा २ सय ६२ जना र सल्यानमा १ हजार २ सय २० जना बालबालिका पुर्नस्थापनाको पर्खाइमा छन् ।
‘स्थानीय तहले अभिभाकत्व लिनुपर्छ’
शारीरिक अपाङ्गता भएका बालबालिकाको उपचार सम्भव छ । तर यसका लागि खर्च अलि बढी नै हुन्छ । सीबीआर संयोजक देउजाले भन्नु भयो, ‘उपचार महङ्गो हुने भएपनि यो असम्भव भने छैन । हामीहरूले अहिले सम्बन्धित पालिकासँगको सहकार्यमा काम गरिरहेका छौँ । बालबालिकाका अभिभावक तथा सम्बन्धित पालिकासँग मिलेर जटिल प्रकृतिका शल्यक्रियामार्फत उपचार सम्भव देखिन्छ ।’
यसका लागि सम्बन्धित पालिकाले अभिभावकत्व निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘शारीरिक अपाङ्गता भएका बालबालिकालाई पुर्नस्थापना सेवा दिनुपर्ने सम्बन्धित पालिकाको दायित्व हो । यस विषयमा सबै पालिकाले दायित्व निर्वाह गर्न सके हामी पाँच वर्षभित्र कर्णालीका सबै पालिकामा सेवा विस्तार गर्न सक्छौँ ।’
कर्णालीमा शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि पुर्नस्थापना केन्द्रको स्थायी सञ्चालनार्थ संस्थालाई जग्गा उपलब्ध गराउनतर्फ आफ्नो योजना रहेको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार बताउनु हुन्छ । उहाँले भन्नु भयो, ‘कर्णालीको यो समस्यासँग जुध्न हामी सबै एक हुनुपर्छ । सम्बन्धित निकायसँगको सहकार्यमा यस संस्थालाई कर्णालीमा सेवा प्रवाहमा थप सहजताका लागि जग्गा उपलब्धता तथा सेवा प्रवाहतर्फ हामीले पनि सहयोग गर्नेछौ ।’
