INSEC Online

📅 २०८३ जेष्ठ २१

आज राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २८ गते बिहीबार राति १२ बजेपछि सुरू हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले वैशाख २७ गते विज्ञप्ति जारी गर्दै मौन अवधि सुरू भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको राससले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘स्थानीय तह निर्वाचन निर्देशिका-२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को (१)मा मौन अवधि सुरू भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन ।’

सोही निर्देशिकाको दफा ७० को उपदफा(१)मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।

अन्य

भिडियो