INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा कुशे गाउँपालिका-५ का एरिया सदस्य कर्णबहादुर थापा, सोही ठाउँका बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नपा-३ घर भई हाल भेरी नपा-३ बस्ने जिल्ला सचिवालय सदस्य डम्बरबहादुर सिंह रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी अमर वली (अमृत)का अनुसार स्थानीय तहको निर्वाचन बिथोल्ने र जनताको मताधिकार हनन् गर्ने पार्टीको कुनै निर्णय छैन । नेपाल कम्युनिष्ट पार्टीले वैशाख २७ गते प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका कार्यकर्तालाई तुरुन्त रिहाइको माग गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ-‘हाम्रो आग्रहलाई बेवास्ता गरिए जस्तो सुकै परिस्थिति आउन सक्छ । त्यसको भागिदार राज्य स्वयम् हुनु पर्नेछ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले आगामी स्थानीय तहको निर्वाचनको विरोधका गतिविधि गर्न सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरिएको जानकारी दिए ।

भेरी नपा-१ रिम्नामा सो पार्टीका कार्यकर्ताले केही दिन अगाडि स्थानीय तहको निर्वाचन आवश्यक नभएको र जनमुखी निर्वाचन नभएको भन्दै निर्वाचनसम्बन्धी पर्चा पम्पलेट च्यातेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो