भिमदत्त नगरपालिका–५ शुकासाल की २८ वर्षीया सन्जु नेपालीलाई ऋषि पञ्चमीका दिन भदौ १६ गते जातीय विभेद गरेको आरोपमा गिरफ्तार गरिएका भिमदत्त नगरपालिका–१० गड्डाचौकीका ४५ वर्षीय पुजारी सहदेव भट्ट भदौ २७ गते धरौटीमा रिहा हुनु भएको छ ।
भिमदत्त नगरपालिका–५ शुकासाल की २८ वर्षीया सन्जु नेपालीलाई ऋषि पञ्चमीका दिन भदौ १६ गते जातीय विभेद गरेको आरोपमा भिमदत्तनगरपालिका–१० गड्डाचौकीका ४५ वर्षीया पुजारी सहदेव भट्टका विरुद्ध पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितको उजुरीपश्चात आरोपित पुजारीलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरी घटनाको अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले सरकारी वकील कार्यालयमार्फत आरोपित विरुद्ध भदौ २७ गते जातीय छुवाछुत तथा दुर्व्यवहार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेमोमा जिल्ला अदालतका न्यायाधीश धुर्वकुमार शाहको भदौ २७ गते बसेको इजलासले आरोपित भट्टलाई १० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको होे ।
ऋषि पञ्चमीका दिन महाकाली नदीको भुजेला घाटमा पुजा गर्ने क्रममा पुजापाठका लागि पुजारीलाई आग्रह गर्दा पुजारीले गोत्र सोध्दा दलित भएको थर खुलेपछि पुजापाठ नगर्ने भन्दै सार्वजनिक स्थलमा अपमान गरी जातीय विभेद गरेको पीडित महिलाको आरोप छ ।
नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय, वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत तथा भेदभाव गरिने छैन भनेर समेत व्यवस्था गरेको छ ।
यसैगरी मुलकी अपराध संहिता २०७४ को दफा ७ को उपदफा १ मा जातीय भेदभाव तथा छुवाछुत गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।