नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुँदै आएको छ ।
पाठ्यपुस्तक अभावका कारण विद्यालयमा पठनपाठन नहुने भएपछि विद्यार्थीहरु विद्यालय जान समेत नमान्ने गरेको अभिभावकहरुले बताएका छन् ।
गत वैशाख २५ गतेदेखि विद्यालय नियमित रुपमा सञ्चालन हुदै आएका भएपनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा विद्यार्थी अन्योलमा परेका छन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यामिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालयमा पनि पाठ्यपुस्तकको अभाव रहेको छ ।
किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यामिक विद्यालयका विद्यार्थी मिलन सिंहले गुनासो गर्नु भयो ।
अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नु पर्ने अवस्था आएको धलौन माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत लवकुमार धामीले गुनासो गर्नु भयो ।
विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यामिक विद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताउनु भयो ।
जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले पुस्तक खरिद गर्नका लागि चैत महिना मै विद्यालयको खातामा रकम पठाइसकिएको तर बजारमा पुस्तक अभावका कारण खरिद गर्न नसकिएको कतिपय विद्यालयका प्रधानाध्यापकहरुले जानकारी गराउँनु भएको बताउनु भयो ।
उहाँले कतिपय विद्यालयले धनगढी, महेन्द्रनगरबाट पुस्तक ल्याएर विद्यार्थीलाई वितरण गरेको भएपनि कतिपय विद्यालयमा पाठ्यपुस्तक अभाव रहेको जानकारी प्राप्त भएकोले यसको समाधानका लागि छलफल गरिने बताउनु भयो ।
जिल्लाका ३ सय ७० ओटा आधारभूत र ८३ ओटा माध्यमिक विद्यालयमा झण्डै ८० हजार विद्यार्थी अध्ययनरत रहेका शिक्षा विकास तथा समन्वय इकाइ, बझाङले जनाएको छ ।