सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
गाउँपालिकाले करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा प्रश्नपत्र आउट गरेको, कर्मचारी भर्ना प्रक्रियालाई मनोमानी रुपमा अघि बढाएको आरोप लगाउँदै माओवादी केन्द्रले गाउँपालिकामा तालाबन्दी गरेको जनाएको छ ।
कार्यपालिकाको बैठक नै नबसिकन कर्मचारी छनोट प्रक्रिया अघि बढाएको भन्दै नेकपा माअोवदी केन्द्र सर्केगाड गाउँकमिटीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको माओवादी केन्द्र सर्केगाड गाउँपालिकाका सचिवालय सदस्य मानबहादुर थापाले बताउनु भयो ।
तर, माओवादीको आरोपप्रति गाउँपालिकाले अस्वीकार गर्दै गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार माओवादी केन्द्रबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको संयोजकत्वमा छनोट प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो ।
अध्यक्ष रोकायाले माओवादीले गाउँपालिकाको कार्यालयमा तालबन्दी गर्ने काम राम्रो नभएको प्रतिक्रिया दिनु भयो ।
पुरानो करार सम्झौता नविकरण नगरेको सर्केगाडले गत साउन २२ गते करारका कर्माचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
गाउँपालिकाकाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेब, बैद्य, रोजगार सहायक, इञ्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५३ ओटा पदमा खुला विज्ञापन अनुसार भदौ १० गते लिखित परीक्षा सञ्चालन गरेको थियो ।
गाउँपालिका कार्यालयमा तालाबन्दी गरेपछि गाउँपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रभावित भएको सर्केगाड गाउँपालिकाका स्थानीय पवन शाहीले बताउनु भयो ।