निर्वाचन आचारसंहिता विपरीत उत्तरी धादिङको क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकाको लापा गाउँस्थित लापा माध्यमिक विद्यालयमा वैशाख २५ गते राप्रपाको चुनावी सभामा हेलिकप्टरको प्रयोग गरी प्रचारप्रसार गरिएको छ ।

राप्रपाको तर्फबाट चुनावी सभा आयोजना गरिएकोमा राप्रपाका नेता बुद्धिमान तामाङसमेत सहभागी भएको कार्यक्रममा हेलिकप्टर ल्याएर कार्यक्रम गरिएको हो ।
राप्रपाले नल्याएको र अन्य मानिसले चुनावी कार्यक्रममा जानका लागि हेलिकप्टरमा जाउँ भनेर आफू कार्यक्रममा गएको राप्रपाका नेता बुद्धिमान तामाङले बताए ।
उत्तरी धादिङको रुबीभ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकाका निर्वाचनमा खटिएका कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरले सो स्थानहरूमा कर्मचारी, मतपत्र र मतपेटिका पुर्याइएको प्रहरी उपरिक्षक शरद खत्रीले जानकारी दिए ।
खनियाबास गाउँपालिकाको दार्खामा राप्रपा र काङ्ग्रेस कार्यकर्ताबिच वैशाख २६ गते झडपको स्थिति आएकोले समयमै सुरक्षाकर्मी पुगेर स्थिति सामान्य पारिएको प्रहरीले जनाएको छ ।
यसैबिच जिल्लामा पानी परेका कारण समयमै मतदानमा खटिएका कर्मचारी र मतपेटिका पुर्याउन कठिन भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
मतदानमा खटिने कर्मचारी छनौट गरिएपनि सबैलाई नियुक्ति पत्र नदिएकोले गर्दा वैशाख २७ गते मतदान स्थलमा पुगेर स्थानीय उम्मेद्वार र राजनीतिक दलको बैठक राख्नु पर्ने भएपनि सो स्थानहरुमा कर्मचारी पुग्न सकेका छैनन् । वैशाख २८ गतेसम्म सम्बन्धित स्थानमा कर्मचारी पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।