INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी

भिमदत्त नगरपालिका–५ शुकासालकी २८ वर्षीया सन्जु नेपालीलाई भदौ १९ गते जातीय विभेद गरेको आरोपमा भिमदत्त नगरपालिका–१० गड्डा चौकीका ४५ वर्षीया पुजारी सहदेव भट्टका विरुद्ध पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

भदौ १६ गते ऋषि पञ्चमीका दिन महाकाली नदीको भुजेला घाटमा पुजा गर्ने क्रममा पुजारीले गोत्र सोध्दा दलित भएको थर खुलेपछि पूजापाठ नगर्ने भन्दै पुजारीले जातीय विभेद गरी सार्वजनिक स्थानमा आफ्नो अपमान गरेको पीडित महिलाको आरोप छ ।

जातीय विभेद गरेको भन्दै पीडित पक्षले जातीय छुवाछुत तथा दुर्व्यवहारसम्बन्धी उजुरी दिएपछि आरोपित पुजारीलाई भदौ १९ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हक अन्गर्तत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय, वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत तथा भेदभाव गरिने छैन भनेर समेत व्यवस्था गरेको छ ।

कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलकी अपराध संहिता २०७४ को दफा–७ को उपदफा (१) अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो