धनकुटा नगरपालिका–८ सान्ताङस्थित सान्ताङ स्वास्थ्य चौकीमा आर्थिक ०७७-०७८ मा ४७ जना गर्भवती स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ । यसमध्ये २६ जना बालिका २० वर्षमुनिकै उमेरमा आमा बनेको तथ्याङ्कले देखाउँछ ।
स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न आउनु भएकी धनकुटा नगरपालिका–८ की १६ वर्षीया सर्मिला आठपहरियाले कानुनले तोकेअनुसार उमेर नपुगि बिवाह गरेको बताउनु भयो । सर्मिलाले भन्नुभयो एक वर्षअघि बिवाह भएको हो । अहिले गर्भवती भएर स्वास्थ्य परीक्षण गर्न आएको हुँ ।
धनुकटा नगरपालिका–८ स्थित देउराली माध्यमिक विद्यालयमा अध्ययनको क्रममा १८ वर्षीय मनोज आठपहरियासँग २०७८ भदौमा बिवाह गरेको सर्मिलाले बताउनु भयो । उहाँले भन्नुभयो मेरो सानै उमेरमा बिवाह हुनुमा आमाबाबु कसैको दोष छैन । हामीलाई बालविवाह गर्नु हुदैन भन्ने थाहाँ हुँदा पनि अरू साथीभाइको देखासिकी लहलहैमा बिवाह गरे । काम गर्ने जनशक्ति बढाउनका लागि पुरूषले बिवाह गर्न खोजिरहेका हुन्छन । हामी पनि जानी नजानी त्यही चपेटामा पयौँ ।
सर्मिलाका बाबु अम्बरबहादुर आठपहरियाले छोरीले बिवाह गरेर गएको थाहा पाएपछि रोक्न खोजेको भएपनि राजीखुसीले गरेको बिवाहमा जवरजस्ती गर्न नसकेको बताउनु भयो । उहाँले छुटाएर ल्याएमा अर्को घटना हुने डरले केही नगरेको बताउनु भयो ।
१५ वर्षीया बालिका मेलिना आठपहरियाले पनि बालविवाह गर्नु भएको छ । उहाँले भन्नुभयो खै के हो यहाँ यस्तै चलन छ । सानै उमेरमा सबै विवाह गर्छन् । हामीले पनि विवाह गर्यौ ।
सान्ताङ स्वास्थ्य चौकी अनमि सुनिता पौडेलले स्वास्थ्य चौकीमा नियमित गर्भ चेकजाँच गर्न आउने युवती अधिकांश २० वर्ष मुनिका रहेको बताउनु भयो । २० वर्ष नपुग्दै गर्भ जाँच गराउने युवतीहरूको सङ्ख्या हेर्दा बालविवाहको अवस्था न्यूनीकरण हुनु पर्नेमा अझै भयावह रहेको देखिन्छ । यहाँ त बालविबाह त चलनको रूपमा रहेको पौडेलको भनाइ छ ।
शिक्षा, चेतनाको अभाव र गरिबी तथा सामाजिक परम्पराका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको अनमि पौडेलको भनाइ छ । जसका कारण सानै उमेरमा आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट बन्चित हुनुपर्ने बाध्यता छ ।
धनकुटा नगरपालिका–८ देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतले ८ देखि १० कक्षासम्म अध्ययन गर्ने १५ देखि १७ वर्ष उमेर समूहका छात्राले बढी बिवाह गरेको बताउनु भयो । पढाई पुरा हुनु अघि नै बिवाह गरेको कारण हरेक वर्ष बिचैमा पढाइ छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको शिक्षक बस्नेतको भनाइ छ । बस्नेतका अनुसार ०७७ मा ६ जनाले बिवाह गरेको भएपनि ०७८ मा आठ जनाले बाल्यकालमै विवाह गरी बिचैमा विद्यालय छाडका छन् ।
बालबिवाह गर्दा प्रजनन अङ्ग परिपक्क नभएर सानै उमेरमा बिवाह गरेर कम तौल भएका बच्चा जन्मिने गरेको सान्ताङ स्वास्थ्य चौकी अनमि सुनिता पौडेलले बताउनु भयो । कम्तीमा साढे दुई केजी भन्दा बढी तौल भएका बच्चा जन्मिनु पर्ने हो । तर दुई केजी भन्दा मुनिको तौल भएका मात्रै बच्चा जन्मिने गरेका छन् ।
गत आर्थिक वर्षमा जिल्लामा ८३ जना युवती २० वर्ष नपुग्दै आमा बनेको तथ्याङ्कमा देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७८÷७९ मा धनकुटाका सात ओटै स्थानीय तहका ८३ जना युवती २० वर्षमुनिका युवती गर्भवती भएका थिए । जसमा ५१ जना धनकुटा नगरपालिकाका रहेकोमा ४७ जना आठपहरिया समुदाय नै रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख प्रमोदप्रसाद दाहालले बताउनु भयो ।
उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिने लगायतका समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको प्रमुख दाहालको भनाइ छ ।
आठपहरिया समाजका अध्यक्ष सारकुमारी आठपहरियाले आठपहरियामा जातिमा शिक्षाको कमीका कारण बालबिवाह जटिल समस्या बन्दै गएको बताउनु भयो । आफूहरू बालविवाह रोक्न लागि परेको यसमा तीनै तहको सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष आठपहरियाको भनाइ छ । अध्यक्ष आठपहरियाले टोलटोलमा बालविवाहविरूद्धको सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले बालविवाह धेरै पहिलेदेखि हुने गरेको भएपनि समस्याको रूपमा नभएकाले कसैले चासो नदिएको बताउनु भयो । उहाँले बालविवाह कै कारण मातृ तथा शिशु मृत्युदर नभएको पाइएकोले पनि रोकथाममा कसैले ध्यान नदिएको बताउनु भयो ।
बालबिवाहको विषयलाई लिएर धनकुटा नगरपालिकाको न्यायिक समितिमा पनि कुनै उजुरी परेको छैन् । धनकुटा नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति प्रमुख भीमादेवि खनालले न्यायिक समितिमा आफू प्रमुख भएपश्चात बालबिवाहको विषयमा कुनै प्रकारको उजुरी नआएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धनकुटाको आठपहरिया समूदायमा बालविवाह निकै हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो तर प्रहरीमा उजुरीका रूपमा बालबिवाहको कुनै पनि घटना आएका छैनन् । उहाँले भन्नुभयो विद्यालयदेखि समाजमा अभिभावकलाई बालबिवाहविरूद्धको सचेतीकरण शिक्षासहित कानुनी प्रावधानको शिक्षा दिनुपर्ने आवश्यक छ ।
स्थानीय तहले बालबिवाहलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना बनाएका छन्, । तर प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेका छैनन ।
बालबिवाहलाई नगरपालिकाले निरूत्साहनको कार्यक्रम ल्याएको नगरपालिका प्रमुख चिन्तन तामाङले बताउनु भयो । उहाँले बालबिवाहको उजुरी नपरेको कारणले नगरपालिकालाई थाहा नहुँदा प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउन नसकिएको बताउनु भयो ।
मुलुकी देवानी संहिता ऐन २०७४ ले बिवाह गर्नका लागि न्यूनतम २० वर्ष पुग्नु पर्ने परिभाषित गरेको छ । तर जिल्लामा रहेको आठपहरिया जातिमा बालबिवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।