बेनी नगरपालिका-५ मा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेसका बेनी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठ सहितको टोलीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
काँग्रेसका कार्यकर्ताले वैशाख २५ गते बेलुकी गरेको आक्रमणबाट बानियाँ घाइते भएका हुन् । ढुङ्गा प्रहारबाट मदनको अगाडिका तीन ओटा दाँत भाँचिएको लक्ष्मण बानियाँले बताए । आक्रमणपछि जिल्ला अस्पताल बेनीमा भर्ना गरिएका मदन वैशाख २६ गते उपचारपछि घर फर्किएका छन् ।
बेनी नपा-५ पुलाचौरबाट डडुवातर्फचुनाव प्रचारमा जाँदै गरेको नेपाली काङ्ग्रेसको टोलीले बाटोमा पोष्टर टाँस्दै हिडेका एमालेका कार्यकर्तालाई काङ्ग्रेस नेता सवार सवारी साधनलाई बाटो नछोडेको आरोप लगाउँदै एक्कासी आक्रमण गरेको नेकपा एमालेका जिल्ला सदस्य गोविन्द बानियाँले बताए ।
सो घटनाको विषयमा वैशाख २६ गते बिहान बैठक बसेर पार्टीका तर्फबाट आगामी दिनमा यस्ता घटना नदोहोराउने प्रतिबद्धता गरेको नेपाली काँग्रेसका महासमितिका पूर्व सदस्य नेत्रबहादुर महतले बताए ।
वैशाख २५ गते भएको झडपपछि वैशाख २६ गते बिहान बेनीमा सर्वदलीय बैठक बसेर राजनीतिक दलहरूले सुरक्षा निकायलाई उपलब्ध गराएको कार्यक्रम तालिका अनुसार नै अन्य दलसँग समय नजुधाइ कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका डिएसपी बसुन्धरा खड्काले बताइन् ।
डिएसपी खड्काले विभिन्न राजनीतिक दलबाट जिल्लामा मोटरसाइकल र्याली तथा माइकिङ र पोष्टर टाँस्ने कार्य पनि कम गर्ने सहमति भएको जानकारी दिइन् ।