INSEC Online

📅 २०८३ जेष्ठ २१

वम बनाउने सामग्रीसहित कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई असफल बनाउन वम बनाउन तयार गरेको सामग्रीसहित प्रहरीले बर्दिबासबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकतालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा धनुषा जिल्ला धनुषाधाम नपा-५ का सो पार्टीका जनकपुर ब्यूरो सदस्य ५५ वर्षीय महोम्मद आदन राइन्, सोही ठाउँका कार्यालय सदस्य ३६ वर्षीय तिलक भनिने प्रानकुमार लामा र ५१ वर्षीया मिथिला चौहान रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए । सिन्धुलीमा वम पड्काउने उनीहरूको योजना रहेको डिएसपीले शर्माले जनाए ।

विशेष सुराकीको आधारमा डिएसपी शर्मा नेतृत्वको टोलीले बर्दिबास नपा-३ गौरीडाँडास्थित ज्ञानप्रसाद पौडेलको घर भाडा लिई वम बनाउन तयार गरेको सामग्रीसहित उनीहरूलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनीहरू बस्दै आएका स्थानबाट ६ वटा प्रेसर कुकर बम, तेजाब दुई बोतल, बारूद बनाउने धुलो ३ सय ग्राम, टाइम बम बनाउन मिल्ने तार जडित भित्ते घडी दुई थान, सोलडिङ् तार र सोलडिङ आइरन, सोलडिङ पेष्ट, वम पड्काउने योजना सहितको नक्सा, गन्धक दुई केजी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू बसेकै कोठाबाट ल्याप्टप दुई थान, स्थानीय निर्वाचन खारेजीसम्बन्धी लेखिएका पर्चा २ सय थान, काङ्ग्रेसको रूख छाप भएको टिसर्ट दुई थान, मोवाइल ६ थान, निर्वाचन खारेजी गर भन्ने लेखिएको पर्चा १ सय थान, पार्टी सदस्य फाइलहरू, पार्टी नविकरणको फाइलहरू, कदर पत्र, पार्टी छाप चार थान, सानो घडी दुई थान, सहयोग रसिदहरू र टेस्टरलगायतका सामग्रीसहितको बाकस प्रहरीले बरामद गरेको छ ।

गिरफ्तार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी घटनाको अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो