स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको मनोविज्ञानलाई यो स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै हाम्रो देशको संविधानले स्थानीय सरकारको सपना देखेको र देखिएको सपना पुरा गर्न यस निर्वाचनले अधिकार सँगसँगै दायित्व पनि थपिएको बताए ।
त्यस्तै क्षेत्रीय निर्वाचन प्रमु्ख गङ्गालाल सुवेदीले अन्तरक्रियामा उठेका निर्वाचनसम्बन्धी जिज्ञासाको जवाफ दिँदै मतपत्रमा केही अप्ठ्यारो रहेपनि निर्वाचनमा मत बदर प्रतिशत घटाउन नागरिक समाजको पनि र्सवसाधरणलाई सचेत बनाउन उतिकै दायित्व रहेको बताए । निर्वाचन कार्यलयलाइ ब्यवस्थापकीय कठीनाइ र चुनौती रहेपनि निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरू तल्लीन रहेको बताए ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष इन्द्रप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने पर्यवेक्षकले कुनै किसिमको प्रभावमा नपरी पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनका लागि युवा, साझा अभियानका अध्यक्ष लोकराज अवस्थीले अबको नेतृत्व युवाको हुनुपर्नेमा जोड दिँदै निर्वाचन आयोगले मत बदर नहुने गरी मतदाता शिक्षामा विशेष जोड दिनुपर्ने बताए । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले मतदाता शिक्षा महत्वपुर्ण रहेपनी प्रभावकारी हुन नसकेको भन्दै निर्वाचनलाई सफल बनाउन आआफ्नो ठाउँबाट सकरात्मक सहयोग गर्नुपर्ने बताइन् ।
वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले स्थानीय तहको निर्वाचनले महिलालाई अवसर दिएपनि दिएको अधिकारलाई स्थापित गर्न चुनौति रहेको बताउँदै देशलाई मानव अधिकार सम्पन्न बनाउन यो निर्वाचनले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
