आवासीय भवन तथा विद्यालयमा कक्षा कोठाको अभाव हुँदा पठनपाठनमा समस्या हुँदै आएको सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत आपाङ्गता भएका (आँखा नदेख्ने र कान नसुन्ने) विद्यार्थीले गुनासो गर्नु भएको छ ।
जिल्लाको सिद्धनाथ माध्यमिक विद्यालय, जोगवुडामा भवन अभावका कारण डोटी, डडेल्धुरा र बैतडी जिल्लाबाट आएका १६ जना छात्र र १९ जना छात्रा गरी ३५ जना आपाङ्गता भएका विद्यार्थीहरूलाई व्यवस्थापन गर्न कठिनाइ भएको हो ।
दुई / तीन कक्षाका विद्यार्थीहरुलाई एउटै कोठामा राखेर अध्यापन भइरहेकोले पढाई प्रभावकारी हुन नसकेकको कक्षा ८ मा अध्ययनरत दृष्टिविहिन विद्यार्थी किशोर बोहराले गुनासो गर्नु भयो ।
उहाँले सम्बन्धीत सरोकारवालाहरुले आपाङ्गता भएका (आखा नदेख्ने र कान नसुन्ने) विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर चाडो भन्दा चाडो समस्याको सामाधान गरी दिन समेत आग्रह गर्नु भयो ।
विद्यालयमा भवन अभावका कारण एउटै कोठामा राखेर अध्यापन गराउने गरिएको र छात्राबासमा पनि कोठा अभावका कारण बस्नका लागि समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी सरीता भण्डारीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालयमा कान नसुन्ने र आँखा नदेख्ने विद्यार्थीलाई सपाङ्ग विद्यार्थीहरुसँगै एउटै कक्षा कोठामा राखेर अध्यापन गराइन्छ । साँझ छात्राबासमा फर्किदा समेत भवन तथा कोठाको अभावमा एउटै कोठामा सबैले बस्नु पर्ने बाध्यता छ ।’
कक्षा कोठाको अभावमा आपाङ्गता भएका विद्यार्थीहरुको पठन पाठनमा समस्या भएको र छात्राबासको राम्रो व्यवस्था नभएकोले आवसका लागि समेत समस्या भएको विद्यालयका स्रोत शिक्षक केहरसिंह वडैलाले बताउनु भयो ।
कक्षा कोठा अभावका कारण दुई / तीन कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखेर पठनपाठन गराइरहेको शिक्षक बडैलाको भनाइ छ ।
आपाङ्गता भएका विद्यार्थीहरुलाई अध्यापन गराउनका लागि साविकको जिल्ला शिक्षा कार्यालयदेखि हालको स्थानीय सरकारलाई भवनको माग गरेको वर्षौँ भइसक्दा समेत अहिलेसम्म सुनुवाई हुन नसकेको शिक्षक बडैलाले गुनासो गर्नु भयो ।
आपाङ्गता भएका विद्यार्थीहरुका लागि भवन अभाव भएको आफूलाई जानकारी नै नभएको परशुराम नगरपालिकाका प्रमुख भरत वडायर जोशीले बताउनु भयो ।
उहाँले आपाङ्गता भएका बालिकालिकाहरुको शिक्षा र आवासका लागि नगरपालिकाले जतिसक्दो चाँडो भवन निर्माण र छात्रावासको व्यवस्थाका लागि पहल गर्ने बताउनु भयो ।