तिला गाउँपालिकाका ३० वटा विद्यालयका विद्यार्थीले दिवा खाजा र सेनेटरी प्याड नपाएको गुनासो गरेका छन् । गत आर्थिक वर्ष ०७८÷०७९ को तेस्रो चौमासिकको दिवा खाजा र सेनेटरी प्याड नपाएको बालबालिकाले गुनासो गरेका हुन् ।
तिला गाउँपालिका–४ सेतिवाडा माध्यमिक विद्यालयका प्रद्यानाप्यापक यज्ञप्रसाद अधिकारीका अनुसार गाउँपालिकाले नै गत वर्षको तेस्रो चौमासिकको दिवा खाजा र सेनेटरी प्याडको रकम विद्यालयको खातामा नहालेपछि समस्या भएको बताउनु भएको छ ।
तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘पालिकाले तिलाका सबै विद्यालयको दिवा खाजा र सेनेटरी प्याड बापतको रकम रोकेको छ ।’
विगतदेखि पाउँदै आएको दिवा खाजा र छात्राका लागि दिने सेनेटरी प्याड बापतको रकम रोकिएको बताएका छन् । गाउँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बाल विकास केन्द्रले जनाएका छन् ।
रकम रोकिएका सबै विद्यालयका प्रद्यानाध्यापकले यसको विरोध गरेका छन् । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिक्रिया दिने गरेको प्रद्यानाध्यापक अधिकारीले बताउनु भयो । उहाँका अनुसार सेतीवाडा विद्यालयमा २ सय ६ जना दिवा खाजा खाने बिद्यार्थी छन् । १ सय ९६ जना छात्रा छन् । यहाँ जम्मा ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रवृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तक लगायतको रकम बारे प्रक्रिया पूरा गररे ०७९ असार ७ गते लेखामा पठाएको हो ।’
तर लेखाले अन्य सबै शिर्षकको चेक काटेर दिवा खाजा र सेनेटरी प्याडको रकम भने रोकेको उहाँको भनाइ छ । उहाँका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवा खाजाको ४७ लाख ५ हजार ६ सय ८० रुपियाँ र सेनेटरी प्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपियाँ फ्रिज गरेको हो ।
शिक्षा शाखाका सहसंयोजक हमालका अनुसार गतवर्ष अपुग छात्रवृत्तिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरुजु देखाएको थियो ।
