दरबन्दी अनुसारका विषेशज्ञ डाक्टर अभाव र ओपिडी सेवा समेत समय मै नपाउँदा आफूहरुले सास्ती खेप्नु परेको सेवाग्राहीहरुले गुनासो गर्नु भएको छ ।
सेती प्रादेशिक अस्पताल, धनगढीमा दरबन्दी अनुसारका विषेशज्ञ डाक्टरको अभाव र समय मै ओपिडी सेवा नपाएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आउने बिरामीहरुले सो गुनासो गर्नु भएको हो ।
ओपिडी सेवाका लागि बिहान १० बजे डाक्टर आउने समय भएपनि डाक्टरहरु झण्डै दुई घण्टा ढिलो आउने गरेको चेकजाँचका लागि प्रादेशिक अस्पतालमा आउने बिरामीहरुको गुनासो रहेको छ ।
धनगढी उपमहानगरपालिका–१५ की रेश्मीदेवी चौधरीले बिहान नौ बजेदेखि ओपिडी सेवा लिन लाइनमा बसेको भएपनि डाक्टर झण्डै दुई घण्टा ढिलो गरेर मात्रै ओपिडी कक्षमा प्रवेश गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भिड अत्याधिक हुने भएकोले बिहानै नौ बजे आएर लाइनमा बसे । तर, चेकजाँच गर्ने पालो दिउसो १ बजे मात्रै पाए ।’
धनगढी उपमहानगरपालिका–१० की भुलियादेवी रानाले सेती प्रादेशिक अस्पतालमा चेकजाँच गर्न आउने बिरामी सङ्ख्या अत्याधिक भएपनि समय मै डाक्टर नआई दिएपछि तीन दिनसम्म पनि औषधि लिने अवस्था नभएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘ओपिडी सेवा लिनका लागि दुई ÷ तीन घण्टासम्म पनि लाइनमा बस्दा समेत पालो आउँदैन । डाक्टरहरु ढिलो गरी आउने र चेकजाँच गर्नेहरुको भिडभाड पनि अत्याधिक हुने भएकोले ओपिडीदेखि विभिन्न परीक्षण रिपोर्ट आउन बिरामीले तीन / चार दिन कुर्नु पर्ने बाध्यता छ ।’
सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउनु भएकी ज्योती सुनारले ओपिडी सेवा लिनका लागि भिडभाड हुने गरेको र भिडमा धकेलाधकेल भएको कारण आफू झन सिकिस्त बिरामी भएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘समयमा डाक्टर नआएका कारण भिडभाड बढ्छ । बिहानै १० बजेदेखि नै ओपिडी सेवामा डाक्टर आउने व्यवस्था भए बिरामीले कम सास्ती खेप्नु पर्ने थियो ।’
सोती प्रादेशिक अस्पतालमा ओपिडी सेवा लिन आउनु भएका स्थानीय धनविर जोशीले १० बजे ओपिडी सेवाका लागि आउनु पर्ने डाक्टरहरु ११ / १२ बजे आउने र तीन बज्न विक्तिकै गइहाल्ने परिपार्टीले बिरामीहरुले सास्ती खेप्नु परेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘डाक्टरहरु ढिलो गरी आउने र छिट्टै गइहल्ने भएकाले चोकजाँच गराउने पालो आएपनि रिपोर्ट देखाउन आर्को दिन आउनु पर्ने बाध्यता छ । डाक्टरहरु बिहान १० बजेदेखि ५ बजेसम्म ओपिडी सेवामा बस्ने भए बिरामीले दुई / तीन दिनसम्म अस्पताल आइराख्नु पर्ने थिएन् ।’
आर्थिक अवस्था राम्रो भएकाहरुले महँगो अस्पतालमा उपचार गराउँदै आएका भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु दुई ÷ तीन दिनसम्म पनि सरकारी अस्पतालमा सास्ती खेपेर उपचार गर्नु पर्ने बाध्यता रहेको स्थानीय पार्वती ऐरले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ओपिडी सेवा लिन पनि दुई / तीन दिन लाग्छ । फार्मेसीमा निःशुल्क पाइने औषधि समेत बाहिर महँगोमा किन्नु पर्छ ।’
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ सय ६ जना डाक्टरको दरबन्दी रहेकोमा ८५ जना डाक्टर मात्रै कार्यरत छन् ।
अधिकृत स्तरका डाक्टर ३१ जना रहेको भएपनि बिषेशज्ञ डाक्टरको अभाव रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिम श्रेष्ठले बताउनु भयो ।
स्टाफ नर्स, अनमि र अन्य कर्मचारीको अस्पतालमा अभाव नभएपनि बिरामीको अनुमातमा विषेशज्ञ डाक्टरको अभाव रहेका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठको भनाइ रहेको छ ।
संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गराइने छैन् भन्ने व्यवस्था गरिएको भएपनि नागरिकहरु सहज स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।


