१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टीकाराज कटुवाललाई प्रहरीले ०७९ असार २६ गते पिस फुल रिसोर्टबाट गिरफ्तार गरेको छ ।
बालिकालाई विभिन्न प्रलोभनमा पारेर असार १६ गते सूर्यविनायक नगरपालिका–१० चित्तापोल स्थित पिस फुल रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै बालिकाका आफन्तले असार २५ गते महानगरीय प्रहरी वृत्त जगातीमा उजुरी दिएका थिए ।
पीडितका तर्फबाट उजुरी प्राप्त भएपछि आरोपितलाई रिसोर्टबाटै गिरफ्तार गरेको प्रहरी इन्स्पेक्टर लोकबहादुर जिसीले जानकारी दिनु भयो ।
आरोपित कटुवाललाई २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी नाबालिकालाई बलात्कार गरेको कसुरमा मुद्दा चलाएर आवश्यक अनुसन्धान सहित कारबाही अगाडि बढाएको इन्स्पेक्टर जिसीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते भक्तपुर अस्पतालमा गरियो ।