INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय शिक्षक चन्द्रकुमार राई (एवाई)लाई असार २६ गते गिरफ्तार गरेको छ ।

असार २१ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनापछि पीडित पक्षले आरोपितविरूद्ध असार २६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित शिक्षकलाई असार २६ गते विद्यालय परिसरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपित शिक्षकले ११ वर्षदेखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफुतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका दुर्व्यवहार गर्ने गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताएका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिका–३ कुङलाङ स्थायी घर भई राई ०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा कार्यरत छन् ।

आरोपित शिक्षक राईले विगत १ वर्षदेखि त्यस्तो व्यवहार गरेको र पछिल्लो समय असार २१ गते बालिकाहरू विद्यालयमा एक शिक्षिकाको जन्म दिन मनाउने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि घटना बाहिरिएको हो ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर बस्नेतले घटनापछि फरार भएका शिक्षकलाई छलफल गर्नु छ भनि विद्यालयमा बोलाएर योजनाबद्ध ढङ्गले गिरफ्तार गरिएको बताएका छन् ।

पीडित पक्षले भने प्रअ बस्नेतले पीडित छात्राले विद्यालय प्रशासनमा दिएको निवेदन च्यातिदिएको र घटना मिलापत्र गरौँ भन्ने आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रामकुमार आठपहरियाले शिक्षक राईले यौन दुर्व्यवहार गरेको भन्ने सूचना कक्षा १० मा अध्ययनरत छात्राबाट पाएको इन्सेक प्रतिनिधिसँग बताएका छन् ।

अन्य

भिडियो