घरेलु हिंसा पीडित २२ वर्षीया महिलाको घटना सम्बन्धमा इन्सेकको पहलमा जिल्ला अदालत, सल्यानमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ ।
न्यायको पहुँच सम्म पुग्न आर्थिक अभाव भएकाले कानुनी सहायतका लागि आर्थिक तथा कानुनी सहयोग गरिदिन पीडितले असार २२ गते इन्सेकलाई निवेदन दिनु भएको थियो ।
न्यायको खोजीमा सदरमुकाम खलंगा पुगेकी बागचौर नगरपालिका–१ बागचौर निवासी मिना बस्नेतले २५ वर्षीय पति दिलिप बस्नेतले बिना कारण कुटपिट गर्ने गरेको बताउनुभयो ।
असार २२ गते इन्सेक जिल्ला प्रतिनिधिसँग कुरा गर्दै उहाँले भन्नुभयो, मैले मजदुरी गरेर घर खर्च चलाउने गरेकी छु । कही कतै मजदुरी गरे भने पहिला नै पैसा लगेर जानुहुन्छ अनि मदिरा सेवन गरी कुटपिट गर्नुहुन्छ ।
इन्सेकद्वारा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्र सल्यानमार्फत कानुनी सहयोग प्राप्त भएपछि पीडितको मुद्दा अदालतमा दर्ता भएको हो ।
१४ वर्षको उमेरमा भागी विवाह गरेकोमा पछुतो मान्दै उहाँले भन्नुभयो अहिले दुईवटा छोरा भई सके ठुलो आठ वर्षको र सानो पाँच वर्षको छ, मजदुरी गरेर पढाई र खाना खर्च जुटाउने गरेकी थिए । पतिले ०७८ चैत २८ गते बिना कारण कुटपिट गर्दै घर निकाला गरेपछि अहिले माइतीमा बसेर मजदुरी गरेर दैनिक गुजारा गरिरहेकी छु । सधैं मानसिक र शारीरिक यातना दिने घरमा कसरी फर्किने । बरु सम्बन्ध विच्छेद गरी बिहान बेलुकाको छाक जसोतसो टार्न सकुला ।
केही महिना अघि पतिले बहुविवाह समेत गरेको र कान्छी पत्नी दुई महिनामै भागेर गएपछि झनै आफुलाई यातना दिने गरेको उहाँले बताउनुभयो ।
इन्सेकले गठन गरेको जिल्ला स्तरीय सिफारिस संयन्त्रमा निवेदन दिदै उहाँले आर्थिक तथा कानुनी सहयोगको माग गरेपछि इन्सेक प्रदेश कार्यालयसँग सहकार्य गरेर प्रकृया अगाडी बढाइएको सिफारिस संयन्त्रका संयोजक गुमान सिंह नेपालीले जानकारी दिनुभयो ।
