१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ ।
गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी चौधरीलाई कैद भुक्तानको लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
पीडित बालिकालाई चौधरीले ०७४ साउन ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा साउन १२ गते उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरी प्रहरीले साउन १२ गते नै दर्ता गरी आरोपित चौधरीलाई सोही दिन गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा ०७४ साउन १२ गते नै गरिएको थियो ।
जिल्ला अदालतको आदेशले आरोपित पुर्पक्षका लागि ४० हजार रुपियाँ धरौटी राखी ०७४ भदौ १ गते तारेखमा रिहा भएका थिए ।
न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले ०७५ मङसिर २५ गते आरोपितविरुद्धको अभियोग दावी पुग्ने अन्तिम आदेश गर्दै चार वर्ष कैद ठहर गरेको थियो ।
कैद सजायको फैसलापछि चौधरी फरार रहेकोमा खोजतलासका क्रममा चार वर्षपछि गिरफ्तार भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।