सिगास गाउँपालिका–७ का कले लुहार, महा लुहार र कालु लुहार भत्ता बुझ्ने भन्दै जेठ २५ गते घरबाट हिडे । बिहान झिसमिसे मै घरबाट हिडेका उहाँहरू दुई दिनको पैदल हिँडेर वडा नम्बर २ स्थित कृषि विकास बैंकमा पुग्नु भयो । तेस्रो दिन बैंकमा पुगेका उहाँहरू भत्ता नलिएरै घर फर्किन बाध्य हुनु भयो । जेठ २७ गते बैंकमा पुग्नु भएका उहाँहरू दिनभरी लाइनमा बसे पनि पालो नआएपछि निराश भएर घर फर्किन बाध्य हुनु भयो ।
६० वर्षीय कालु लुहारले भन्नु भयो, ‘समाजिक सुरक्षा भत्ता बुझ्न सारै गाह्रो भयो, बैंकमा ठेलमठेल भिड थियो, पालो नै आएन, शनिबार र आइतबार बैंक बन्द हुने भएपछि रित्तै फर्किन बाध्य छौँ ।’ भौगोलिक विकटता र बैंकिङ्ग झन्झटिलो प्रक्रियाका कारण दुःख भएको उहाँहरूको गुनासो छ । ‘तीन दिन लगाएर बैंकमा पुगेर पनि रित्तै फर्किन बाध्य छौँ, महा लुहारले भन्नु भयो, वडामै भत्ता बुझ्ने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ उहाँका अनुसार सिगास गाउँपालिका वडा नम्बर ९, ५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुई / तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानु पर्ने अवस्था छ ।
लुहारको मात्र होइन वृद्ध तथा समाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया वडास्तर मै हुनु पर्ने उहाँ जस्तै सबै ज्येष्ठ नगारिकहरुको माग छ ।
सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंक मार्फत भत्ता वितरण हुने गरेको छ । कृषि विकास बैंकको शाखा वडा नम्बर २ मा छ । भौगोलिक रूपमा विकट रहेको स्थानीय तहमा सामाजिक सुरक्षा भत्तादेखि बैंकिङ कारोबारको लागि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।
सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता बुझ्न समास्या भइरहेको छ । तीनदेखि चार महिनाको भत्ता एकैपटक निकासा हुँदा भत्ता बुझ्न बैंकहरूमा भिड लाग्ने गरेको छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न दुई ÷ तीन दिन हिँड्नु पर्दा बाटोमा बिरामी पर्ने, हिउँ परेका बेला र वर्षातमा भिरपाखाको बाटो हिँड्न निकै जोखिम हुने गरेको सिगास गाउँपालिका–५ का करन बोहराले दुखेसो पोख्नुु भयो ।
कतिपय ग्रामीणबस्तीमा सडक छैन् । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ नागरिक बाध्य भएका छन् । वडा कार्यालयबाट वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंक खाताबाट वितरण हुन थालेको हो ।
सिगास गाउँपालिका वडा नम्बर २ स्थित कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपांङगता भएका व्यक्ति, पाँच वर्षमूनिका बालबालिकाले सास्ती भोग्दै आइरहेका छन् ।
बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैंक सेवा दिनु परिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बिजुली नहुँदा बैंकको सेवा छिटो छरितो हुन सकेको छैन । घाम नलागेको दिन सोलारले काम गर्दैन । इन्टरनेट नचल्दा सेवा ठप्प हुने गरेको छ । ज्येष्ठ नागरिक, अपांङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भएकाले बैंकसँग समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्दा प्रभावकारी हुन्छ । ’
सेवाग्राहीको माग अनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँ मै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनु भयो ।
सामाजिक सुरक्षा भत्तालाई सहज बनाउने बारे कार्यपालिका बैठकमा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरणका फिल्ड सहायक खगेन्द्र धामीले बताउनु भयो ।
वडामै बैंकका कर्मचारी बोलाएरै भएपनि भत्ता सहज रूपमा वितरण गर्ने बारे छलफल चलिरहेको उहाँको भनाइ छ ।
दशरथचन्द नगरपालिकाले बैंकको पहुँच भन्दा टाढा रहेका वडाहरूमा वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ । दशरथचन्द नगरपालिका वडा नम्बर २, ३, ७, ९ र ११ का नागरिकहरूलाई सम्बन्धित वडा कार्यालयबाटै र सुर्नया गाउँपालिका वडा नम्बर ३ वडामा पनि वडा कार्यालयबाटै भत्ता वितरण गर्ने निर्णय भएको छ ।
गत चैत महिनामा दुई दिन पैदल हिँडेर सिगास गाउँपालिका–६ थलाकाँडाबाट सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लाइन लाग्नु भएका हरजित साउदको लाइनमा नै ढलेर मृत्यु भएको थियो ।
