शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि हुम्लाका दुई वटा गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुग्न सकेका छैनन । हालसम्म पनि पाठ्य पुस्तक नपुगेको गाउँपालिकामा सिमकोट र नाम्खा रहेका छन् । शैक्षिक सत्र सुरू भएको एक महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्य पुस्तक नपाएको गुनासो गर्दै आएका छन् ।
विद्यालयमा पाठ्य पुस्तक नपुग्दा यो वर्ष पनि कोर्ष पुरा नहुने कैलाश माविका छात्रा रमिता शाहीले गुनासो गर्नु भयो । विद्यालयमा पठ्य पुस्तक अभावका कारण शिक्षक र शिक्षिकाले मौखिक रुपमा अध्ययन गरी रहेको छात्रा शाहीले गुनासो गर्नु भयो ।
हुम्लाका पाँचवटा गाउँपालिका मध्य खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोटका विद्यार्थीहरूले हातहातमा पुस्तक पाएको भए पनि माथिल्लो भेग क्षेत्रमा पुस्तक आइ नपुगेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराईले बताउनु भयो ।
खार्पुनाथ भन्दा तलका गाउँपालिकामा ढुवानी सहज हुने भएपछि सजिलै पुस्तक पुगेका छन् । जसमा खार्पुनाथका लागि पैदलमार्गबाट रोकाया पुस्तक पसलले ढुवानीको जिम्मा लिएको थियो । चङ्खेली र सर्केगार्ड गाउँपालिकाका ५९ वटा विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा पाएको मानदेवी पुस्तक पसलका प्रतिनिधि मानदेश शाहीले तीन हजार १ सय ५ सेट पुस्तक गाउँपालिकामा पु¥याएर वितरण तयारी भइरहेको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रदेश कार्यालय, सुर्खेतबाट बुझेर पैदल ढुवानी गरिएको हो । अदानचुली र ताँजाकोटका ३६ वटा विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रतिनिधि लोकेन्द्र भण्डारीले २ हजार थान पुस्तक लिमिटेडको नेपालगञ्ज कार्यालयबाट बुझेर गाउँपालिकामा पु¥याइसकेको र विद्यालयलाई खबर भइसकेकाले एक–दुई दिनमा वितरण गरिने बताइएको छ ।
उत्तरी क्षेत्रका सिमकोट र नाम्खा गाउँपालिकाका कुनै पनि विद्यालयमा पुस्तक पुगेको छैन । यी गाउँपालिकाको पुस्तक ढुवानीको जिम्मा पाएको रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले पैदलमार्गबाट सर्केगार्डमा आइपुगेको र त्यताबाट खच्चडमा ढुवानी गर्ने तयारी भइरहेको जानकारी दिनु भयो ।
हुम्ला जिल्लामा कक्षा एकदेखि दशसम्म १६ हजार १ सय ४७ जना विद्यार्थी सङ्ख्या रहेको इकाइको विवरणमा उल्लेख छ । लिमिटेडको प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख धनबहादुर केसीले सामाजिक विकास मन्त्रालयको विवरणका आधारमा भन्दा पनि सम्वन्धित गाउँपालिकाले गरेको सिफारिसका आधारमा हुम्लाका लागि पुस्तक सेट पठाइएको जानकारी दिनु भयो ।
प्रमुख केसीले हिमाली जिल्ला भएको र ढुवानी समस्या हुने भएका कारण हुम्ला जिल्लालाई पुस्तक वितरणमा पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनु भयो । हुम्लामा पुस्तक ढुवानीको जिम्मा पाएका तीनवटै सप्लायर्सहरूले कक्षा एकदेखि तीनसम्मका पुस्तक भने निजी क्षेत्रले उपलब्ध नगराएका कारण ल्याउन नसकिएको जनाएका छन् ।
हालसम्म पनि विद्यालयमा पाठ्य पुस्तक नपुगेपछि विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।