INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–६ जोरपाटीमा रहेको सर्वनाम शिक्षालयको होस्टेलमा बस्ने विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेर फरार रहेको आरोपमा रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले मन्थलीबाट जेठ २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले होस्टेलमा बस्दै आएका कक्षा ७, ८ र १० मा पढ्ने छात्राहरूलाई ६ महिनादेखि दुर्व्यवहार गर्दै आएको घटनाबारे विद्यालय प्रशासनलाई जानकारी हुँदा पनि वास्ता नगरेको र घटनाको बारेमा अनुसन्धान हुनुपर्ने माग गर्दै जेठ २१ गते अभिभावकहरूले विद्यालय परिसरमा प्रदर्शन गरेका थिए ।

घटना बाहिर आएको जानकारी पाएपछि आरोपित बस्नेत जेठ २१ गते बिहान नै गाडीमा चढेर मन्थली पुगेका थिए ।

आफूहरूलाई आरोपितले एक्लो पाएको मौका छोपेर पटकपटक संवेदनशील अङ्गमा छुने गरेको तीन जना छात्राले अभिभावकको रोहबरमा प्रहरी वृत्त बौद्धमा भन्दै जेठ २१ गते उजुरी दिएका थिए ।

घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा गिरफ्तार गरेर जेठ २१ गते राति नै काठमाडौँ ल्याइएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितहरूको स्वास्थ्य परिक्षण जेठ २१ गते थापाथलीस्थित प्रसूति गृहमा गरिएको छ ।

अन्य

भिडियो