सल्यान जिल्ला बागचौर निवासी यमुना केसीले कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार सल्यानमा सजाय भोगिरहनु भएको छ । उहाँलाई जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको छ । उहाँले त आफ्नो गल्तीको सजाय भोगिरहनु भएकोछ । तर, उहाँले २३ महिने छोरालाई पनि कारागारको कम्पाउण्डभित्र थुनामा राख्नु परेको छ । ‘घरमा पालनपोषण गर्ने कोही छैन ।’-उहाँले भन्नु भयो-‘दूधे बच्चालाई अरूसँग पनि कसरी छोड्नु ?’
केसीसँगै कारागारमा बहुविवाहको सजाय भोगिरहनु भएकी शान्ति परियारसँग एक वर्षीय र साढे दुई वर्षीय दुई जना सन्तान् छन् । ‘कारागार भित्र बालबालिकाले स्वतन्त्र रुपले खेल्न समेत पाउँदैनन् । ठाउँ साँघुरो छ । मानिसको चाप धेरै छ । खुम्चिएर बस्नु पर्ने बाध्यता छ ।’-यहाँका कैदीबन्दीको भनाई छ ।
कारागारका आठ ओटा कोठामध्ये दुई ओटामा महिला र ६ ओटामा पुरुषलाई राखिएको छ । पाँच जनाको क्षमता रहेको महिला ब्लकमा २१ जना महिला बस्छन् भने १५ जना क्षमताको पुरुष ब्लकमा ९८ जनालाई राखिएको छ । पूर्वाधार अभावमा बालबालिका कोचाकोच गरेर सुत्न बाध्य भएको जेल जीवन बिताइरहनु भएकी शान्ति परियारले जानकारी दिनु भएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सल्यान कारागारका अधिकांश कैदीबन्दी बराण्डामा सुत्न बाध्य छन् । ‘हामीलाई त सुत्न र खानको समेत समस्या छ ।’-कारागारका चौकीदार निमलाल विष्टले भन्नु भयो । उहाँले कारागारमा रहेका नाबालकमा बेलाबेलामा स्वास्थ्य समस्या देखिने गरेको समेत बताउनु भयो ।
कारागारका जेलर बलबहादुर केसीले कारागारको समस्याका विषयमा आफूले जति पटक कुरा उठाएपनि समस्या समाधान हुन नसकेको बताउनु भयो । ‘हामीले माथिल्लो निकायमा निरन्तर पत्राचार गरिरहेका छौँ । दैनिक जसो फोनमार्फत समेत जानकारी गराउँछौँ तर कुनै सुनुवाइ भएको छैन ।’-उहाँले भन्नु भयो ।