INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ, महानगरपालिका–८ निवासी सेन्ट लरेन्स कलेजका शिक्षक ५१ वर्षीय जनार्दन अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानी निवासी सोही कलेजका शिक्षक ५१ वर्षीय राजन पौडेललाई प्रहरी वृत गौशालाको टोलीले जेठ १० गते गिरफ्तार गरेको छ ।

कलेजका व्यवस्थापन संकायका संयोजक र सामाजिक विज्ञान विषयक शिक्षक समेत रहेका अधिकारीले कलेजमा पढ्ने छात्राहरूलाई पटक पटक यौन दुर्व्यवहार गरेको विषयमा विद्यार्थीले कलेज प्रशासनसँग कुरा राखे पनि कलेजले शिक्षलाई कारबाही नगरेपछि जेठ १० गते बिहानदेखि कलेजका विद्यार्थी र अभिभावकहरूले प्रहरी वृत गौशाला अगाडि प्रदर्शन तथा धर्ना दिएका थिए ।

विरोध प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले ढुङ्गामुडा गरी कलेज भवनका सिसा समेत फुटाएका छन् ।

विद्यार्थीहरू आन्दोलनमा उत्रिएर प्रदर्शन गर्न थालेपछि अभिभावकको रोहबरमा तीन जना छात्राहरूले प्रहरी वृत गौशालामा जेठ १० गते दिउँसो उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा प्रहरीले आरोपित शिक्षकलाई चाबहिलस्थित कलेजबाट गिरफ्तार गरेको डिएसपी केशव भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा आरोपितविरुद्ध जेठ १० गते नै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको डिएसपी भट्टराईले बताउनुभयो ।

जिल्ला अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धानका लागि आरोपित शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको छ ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण जेठ १० गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।

Bidhyarthi andolan 3 photo3kathmandu20790210 photo1kathmandu20790210

 

अन्य

भिडियो