नेकपा एमालेबाट बुटवल उप–महानगरपालिका–१२ का वडा अध्यक्षका उम्मेदवार देवीप्रसाद रेग्मी चढेको गाडीमा गठबन्धनका कर्यकर्ताहरूले वैशाख २६ गते साँझ ढुङ्गा प्रहार गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
बा २० च ६७८५ नम्बरको हाइलक्स गाडीमा चुनाव प्रचार–प्रसारमा चार जना सवार रहेको अवस्थामा ढुङ्गा प्रहार गरिएको रेग्मीले बताउनु भयो ।
ढुङ्गा प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको अगाडिको सिसा फुटेको छ । गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्लामा नै यसरी असुरक्षित हुनुले निर्वाचन निस्पक्ष नहुने होकी भन्ने शंका उत्पन्न भएको नेकपा एमाले नेताहरूले बताएका छन् ।
घटनाका विषयमा रेग्मीले प्रचार प्रसार गरेर फर्कने क्रममा अल्फावेट नखुलेको ६१८३ नं को स्कुटीमा आएका दुईजना व्यक्तिले ढुङ्गा हानेको बताउनु भयो । रेग्मीले गाडीको बाँया तिरको शिशा फुटेको र ढुङगा भित्र पसे पनि कसैलाई नलागेको बताउनु भयो ।
घटनाका विषयमा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले यो घटनाप्रति नेकपा एमालेको गम्भीर ध्यानआर्कषण भएको बताउदै नेकपा एमालेको पक्षमा जनलहर देखेर हारको मानसिकताका कारण आक्रमण गरिएकोले घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गरी कारबाहीका लागि प्रशासनसँग माग गरेको बताउनु भयो ।
पीडित पक्षले घटनाका सम्बन्धमा नयाँगाउँ प्रहरी चौकीमा वैशाख २७ गते उजुरी दिएका छन् ।
घटनाका विषयमा नेपाली काँग्रेसका जिल्ला सचिव हरी काफ्लेले घटनामा आफ्नो पार्टीको कुनै सङलग्नता नभएको भन्दै आधिकारीकता नभएको घटनालाई अतिरञ्जित नबनाउन र चुनावी अभियानका क्रममा घटेका सबै घटनामा नेपाली कांग्रेसलाई अनावश्यक आरोप लगाएर केही नहुने बताउनु भयो ।
प्रहरी चौकी नयाँगाउँका असई कृष्ण विकले आक्रमण घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।