बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवारको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वेलबारी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएका खेमप्रसाद गौतमले बेलवारी नगरपालिका– २ स्थित घरमा पार्किङ गरी राखेको बा १२ च ९३८४ नम्बरको कारमा वैशाख २३ गते बिहान आगजनी गरिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताउनु भयो ।
प्रहरीका अनुसार वैशाख २३ गते बिहानका राति २ बजेतिर घटनाको जानकारी आएको थियो । तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको सुवास पाण्डेलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो ।
अनुसन्धानका लागि गिरफ्तारीमा परेका पाण्डे नेपाली काङ्ग्रेस निकट रहेको स्थानीयको भनाइ छ । पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जानकारी दिएको छ ।
मेयर पदका उम्मेदवार गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयर पदका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।
आगजनीबाट अगाडि र पछाडिको केही भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उम्मेदवार गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरू र प्रतिस्पर्धामा आउन नसक्नेहरूले गाडीलाई निशाना बनाएको आरोप लगाउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले अनुसन्धानबाट घटनाको थप विषय खुल्दै जाने बताउनु भएको छ ।


