बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले वैशाख २२ गते नमूना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो ।
मतदान केन्द्र तोकिएको त्रिवेणी संगम मावि चुप्राको प्रागणमा मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयहरुलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।
अघिल्ला निर्वाचनहरुमा निर्वाचन आयोग र संघसंस्थाहरुले मतदाता शिक्षा कार्यक्रमहरु चलाउँदा मतदाता शिक्षा चलाउनेहरुले आफ्नो राजनीतिक आस्था अनुसार मतदातालाई प्रभावित पारेको आरोप लागेपछि यस पटक मतदाता शिक्षा कार्यक्रम नै चलाइएका छैनन् ।
स्थानीयहरुले सही तरिकाले मतदाताले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी काउचाले बताउनुभयो । नमूना मतदानमा ४८ जना सहभागी मध्ये चार वटा मतपत्रमा एउटै पदका लागि मत काम लागेको थिएन ।
सक्कलीकै जस्तै सात वटा पदका लागि छाप लगाउन पाइने पहिले नै मतदातालाई भनिएको थियो । यस्तोयस्तो छाप लाग्दा वा स्वस्तिक छाप वाहेक अरु कुनै संकेत वा औंठा छाप लगाउदा बदर हुन्छ भन्ने मतदान गर्नुअघि भिडिओबाट देखाइएको थियो ।
मतगणना गर्दा पनि सदर र बदर कस्तालाई मानिन्छ भनेर भिडियो मार्फत जनाइएको थियो । नमूना मतदानमा सहभागीहरुले मत खसाल्न मतपत्र लिई सकेपछि तल, माथि, वर–पर फरक फरक चिन्हमा छाप लगाउन खोज्दा अलमल परेको ५९ वर्षीय खगिसरा थापाले बताउनुभयो ।
नमूना मतदानमा सहभागी कतिपय मतदाताहरुले आफूले पहिलेका मतदानमा छाप लगाएका चिन्ह नभेटाएर पनि अलमल परेका चाल पाइएको स्थानीय पार्वती खत्रीले सुनाउनुभयो ।
