कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता बीचमा भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ता कुशे गाउँपालिका–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएका छन् । ढुङ्गाले टाउकोमा चोट लागेका घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका करिब एक सय कार्यकर्ता र नेपाली काँग्रेसका करिब ७० जना कार्यकर्ता बीचमा वैशाख २१ गते दिउँसो २ बजे झडप भएको हो ।
चुनावी प्रचार प्रसारका बिषयलाई लिएर पार्टी कार्यकर्ता बीच झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । झडपलाई कम गर्न खोज्ने क्रममा नेपाल प्रहरी माथि नै ढुङ्गा प्रहार हुन थालेपछि प्रहरीले थ्रीनटथ्री राईफलबाट एक राउण्ड हवाई फायर गरेको थियो ।
स्थितिलाई सामान्य बनाउनका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिनु भयो ।
कुशे गाउँपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ भने नेपाली काङ्ग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनावमा भाग लिएका छन् ।