१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका–१० का ६३ वर्षीय प्रदीप तामाङ्गलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दिककुमार वर्देवाको वैशाख १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कदै सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ माघ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद् ०७६ माघ २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा फागुन १६ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीशको फागुन १८ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ २२ गते गरिएको थियो ।
जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा झापा गाउँपालिका–२ का २० वर्षीय दीपु मुखियालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश गिरिराज गौतमको वैशाख १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारीले बताउनु भयो ।
बलात्कारको योजना बनाएको कसुरमा सोही आदेशले सोही ठाउँका २५ वर्षीय सुरज परियारलाई दुई वर्ष कैद र झापा गाउँपालिका–३ की २० वर्षीया विना महतलाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई ०७७ साउन २० गते झापा गाउँपालिका–३ का २० वर्षीया विना महतो र सोही ठाउँका २५ वर्षीय सुरज परियारको योजनामा बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही ठाउँका २० वर्षीय दीपु मुखियाविरुद्ध ०७७ साउन २३ गते जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई ०७७ साउन २३ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।