नेपाली कांग्रेस कार्यकर्ताले वैशाख २१ गते नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको १२ वडा पार्टी कार्यालय तोडफोड गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्दनले पालिकाको वडा नम्बर १२ को अध्यक्ष पद माओवादी केन्द्रको भागमा परेपछि असन्तुष्ट बनेका कांग्रेस कार्यकताहरूले पार्टी कार्यालयमा तोडफोड तथा तालावन्दी गरेका हुन् ।
कांग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा राखेको कुर्सी टेबल तथा पार्टीको झण्डा सडकमा फालेका छन् ।
कांग्रेसले नगर सचिव समेत रहेकी अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाई चुनावी प्रचार प्रसारको अन्तिम चरणमा पुगेको बेला गठबन्धनको नाममा माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि बिहानै कांग्रेसका कार्यकर्ताहरू आक्रोसित बनेका थिए ।
प्रधानमन्त्रीविरुद्ध उजुरी
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा वैशाख २१ गते उजुरी परेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले वैशाख २२ गते भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री देउवा भरतपुर आउँदै छन् । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिनुभएको हो ।
आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे ।
निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आँफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।